अखबारपत्र:काठमाडौं, कार्तिक १८। कहि नभएको जात्रा हाँडीगाउँमा । भोका जनतालाई केही अभियन्ताहरुले खाना खुवादा आफ्नो बेइज्जत भएको भनेर खाना खुवाउने अभियानमै रोक लगाएर महानगरपालिकाले अर्को जात्रा देखाएको छ ।
लामो समयदेखि केही अभियन्ताहरुले खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए । तर महानगरले नगर प्रहरी पठाएर खाना वितरण रोकेको छ ।अभियन्ताले निःशुल्क खाना खुवाउँदा फोहोर भएको भन्दै महानगरले गएको शनिबारदेखि खाना वितरण गर्न नदिएको हो।
तीन दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो । सोमबार पुनः नगर प्रहरी आएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए ।
सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खानेहरु जीवन कष्टकर हुदै गएपछि अभियन्ताहरुले निःशुल्क खाना वितरण गर्दै आएका थिए । तर महानगरले खुलास्थानमा खाना खुवाएर महानगरको बेइज्जत गरेको भन्दै रोकिएको अभियन्ताहरुले जनाएका छन्।