रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट आपत्तिजनक: भीम रावल




रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट आपत्तिजनक: भीम रावल

अखबारपत्र: काठमाडौं, कात्तिक ६ ।सत्तारुढ नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेट कूटनीतिक मर्यादाविपरीत र आपत्तिजनक भएको बताएका छन् ।

सत्तारुढ दलकै नेता रावलले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गरेकोमा सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका हुन् ।

उनले बिहीबार दिउँसो ट्वीट गर्दै  उक्त भेट कूटनीतिक मर्यादाको विपरीत भएको पनि जिकिर गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाविपरीत भारतीय गुप्तचर रअ प्रमुखसँग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ। कूटनीतिक मर्यादाविपरीत छ।’

भारतीय एयरफोर्सको जहाज चार्टर्ड गरी बुधबार दिउँसो रअ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गोयल र प्रधानमन्त्री ओलीबीच बुधबार बेलुका प्रधानमन्त्रीनिवास बालुवाटारमा शिष्टाचार भेट भएको पुष्टि गरेका छन् ।


प्रतिक्रिया