अखबारपत्रः काठमाण्डौ,असोज २६ ।कोरोना संक्रमितको संख्या दिनदिनै बढदै गएपछि नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले चेतावनी दिएको हो ।
सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्छ । अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए ।
‘चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था आउँदैन, लकडाउन गर्ने/नगर्ने कुरा सरकारी आग्रह र अपिलहरू नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्छ,’ उनले भने ।
त्यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरेका छन् । दशै, तिहार र छठजस्ता चाडपर्वहरूमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे ।