फेसबुकले शुरु गर्यो नेपालका ७५ सय सार्वजनिक स्थलमा फ्रि-वाइफाइ सेवा




फेसबुकले  शुरु गर्यो नेपालका ७५ सय सार्वजनिक स्थलमा फ्रि-वाइफाइ सेवा

 काठमाडौं,२२ असोज। नेपालमा फेसबुकले  ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ।   नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गरेको जानकारी बिहीबार पत्रकार सम्मेलन गरी  दिएको हो ।

वर्ल्डलिङ्कले १० हजार स्थानमा पब्लिक वाईफाई उपलब्ध गराएको छ । जस अनुसार कम्पनीले ७ हजार ५ सय स्थानमा फेसबुकको एक्सप्रेस वाईफाईबाट सेवा दिइरहेको छ ।

कार्यक्रममा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवालले सरकारले स्पेक्ट्रम नदिदा समस्या भएको र फेसबुकसँगको सहकार्यले पब्लिक वाईफाई व्यवस्थापनमा सहज हुने बताए ।

फेसबुकसँगको सहकार्यले पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेटको पहुँचमा ल्याउन सहयोग पुग्ने समेत उनले बताए ।

यस्तो वाइफाइमा जोडिन आफ्नो मोबाइल नम्बर राख्नुपर्छ । मोबाइलमा कोड आएपछि त्यसबाट सेवामा दर्ता हुन सकिन्छ । लोकल नम्बर नभए ह्वाट्सएप नम्बर पनि प्रयोग गर्न सकिने छ ।

अब पहिलेजस्तो एकपटक नेटवर्कमा कनेक्ट भएपनि पटक-पटक कोड राखेर कनेक्ट हुनपर्ने छैन । यसरी कम्पनीले १५ मिनेटदेखि दुई घण्टाको सीमा तोकेर निःशुल्क वाइफाइ सुविधा दिनेछ । तोकिएको अवधि सकिएपछि फेरि कनेक्ट गर्न सकिनेछ ।

कम्पनीले देशका ३० हजार ठाउँमा यस्तो सेवा विस्तार गर्ने लक्ष्य पनि राखेको छ । अब ग्रामीण भेगलाई प्राथमिकतामा राख्ने योजना छ ।


प्रतिक्रिया