अखबारपत्रः काठमाण्डौ, असोज २१। काठमाडौंको चाबहिलमा आकाशे पुलको उद्घाटन गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान पुलको उद्घाटन गरेका हुन्।
फलामबाट बनेको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो। बोलपत्रबाट छनोट भएको कान्छामान निर्माण सेवाले पुलको निर्माण गरेको हो।
२०७६ कात्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकाले निर्माण कार्य हुन सकेको थिएन। जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियो।
सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो। आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ।
यो सँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ।