अखबारपत्रः काठमाण्डौ,
१२ असोज । सरकारले नेपालमा कोरोनाको जोखिम अझै पूवार्नुमान गर्न सक्ने अवस्थामा नभएको बताएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा कोरोना संक्रमण बढि रहेको र जोखिम कहिलेसम्म रहन्छ भन्ने पूर्वानुमान गर्न नसकिने बताए ।
‘नेपालमा निरन्तर संक्रमण बढिरहेको छ । कुनै विन्दुमा पुगेर हामी विस्तारै ओरालो लाग्न सुरु गर्छौं । संक्रमण नियन्त्रणको अवस्थामा जान्छ । अझै पूर्वानुमान गर्न सकिने अवस्था छैन’ मन्त्रिपरिषदको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा ज्ञवाली भने । सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाबीच सन्तुलनको आवश्यकताका कारणले धेरै क्षेत्र खुला गरेको मन्त्री ज्ञवालीले बताए ।
प्रवक्ता ज्ञवालीले ‘सर्वसाधारणले सरकारी आदेश निर्देशन र विज्ञको सुझाव मानेकै कारण नेपालमा कोरोनाको भयावह अवस्था आउन नपाएको ‘तर जोखिम उच्च नै रहेको बताए ।
आगामी दिनमा चाडबाडको समय आउँदैछ । स्वास्थ्य सतर्कतालाई कहिँ कतै पनि कम नगर्नुहुन विज्ञको सुझाव मान्न प्रवक्ता ज्ञवालीलेआग्रह गरे ।
सरकारले काठमाडौंमा घरधनी र केही औद्योगिक प्रतिष्ठानले पीसीआर रिपोर्टका लागि सर्वसाधारणलाई बाध्य बनाएको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।
मन्त्री ज्ञवालीले स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत कसैलाई पनि पीसीआर परीक्षणका लागि बाध्य नबनाउन आग्रह गरे । पीसीआर रिपोर्ट नभई धरधनीले डेरामा बस्नेलाई पस्न नदिएको र औद्योगिक प्रतिष्ठानले काम गर्न नदिएको सुन्नमा आएको भन्दै जबर्जस्ती पीसीआर परीक्षणका लागि बाध्य नपार्न मन्त्री ज्ञवालीले आग्रह गरे ।