प्याज कृतिम अभाव देखाउने व्यापारीलाई ३ लाख जरिवाना




प्याज कृतिम अभाव देखाउने व्यापारीलाई ३ लाख जरिवाना

अखबारपत्र : काठमाडौ- असोज ४।  गोदाममा भएको प्याज नबेचेर कृतिम अभाव देखाउने व्यापारीलाई ३ लाख जरिवाना गरिएको छ ।

प्याज आएको छैन भन्दै गोदाममा भएको पुरानै प्याजको भाउ बढाएर बेच्ने, बिल नकाटी प्याज बिक्री गर्नेजस्ता काम गरेर बजार व्यवस्थापनमा बाधा सृजना गरेपछि व्यापारीहरूलाई नगद जरिवाना तिराउन थालिएको हो।

यसका लागि काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गरेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई कारबाहीका लागि लेखेर पठाउने गरेको छ।

यसका आधारमा विभागले उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर जरिवाना तिराउने गरेको छ।

यस क्रममा हिजो विभागले वडा ३२ तीनकुनेको हरित सामुदायिक कृषि बजारमा होलसेल गर्ने ३ जना व्यापारीलाई तरकारी विषयगत क्षेत्रअन्तर्गत जनही ५५/५५ हजार रुपैयाँ जरिवाना तिराएको हो।

यसरी जरिवाना तिर्नेमा उलक सब्जी भण्डार, दुलाल आलु भण्डार र बिजेश गौतम छन्।

हिजै बिहान भएको अनुगमनका क्रममा व्यापारीले बिल लिने दिने नगरेको, सामान प्याज लुकाएको, व्यवसाय दर्ता नगरेको, स्टोर प्रमाणित नगराएको, नापतौल अद्यावधिक नगरेको जस्ता त्रुटी गरेका कारण कारोबार रोक्का राखेर कारबाहीको प्रक्रिया अघि बढाएको थियो।

यसैगरी वडा १३ कालीमाटीको आर के ट्रेडर्सलाई ३ लाख रुपैयाँ, रञ्जन आलु प्याज भण्डारलाई २ लाख ५० हजार रुपैयाँ, वडा १४ बल्खुको पशुपति आलु प्याज स्टोरलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।

भदौ २९ गतेको अनुगमनका क्रममा भेटिएको बिल बिजकविना खाद्यान्नको होलसेल गर्ने न्यु सापकोटा स्टोरलाई २ लाख ५५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

काठमाडौं महानगरको वडा १६ वनस्थली चोकबाट सुरू हुने सिद्धिचरण सडकमा सञ्चालक यदुप्रसाद शर्मा बन्द सटरमा भित्रबाट सामान विक्री गरिरहेको अवस्थामा भेटिएपछि कारबाहीका लागि सिफारिस गरिएको थियो।

यसै गरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा सञ्चालन गरेर सहरका पानी वितरण गर्दै आएको माता सरस्वती खानेपानीको जारमा लेउ भेटिएपछि प्रा. लि. लाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा रहेको अनुगमन समितिमा कृषि विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अनुसन्धान मञ्चका प्रतिनिधि सदस्य छन्।

अनुगमन टोलीले नगर प्रहरी र स्थानीय प्रहरीको समन्वयमा खाद्य वस्तु तथा पेय पदार्थ, तरकारी फलफुल, माछामासुसहित दैनिक उपभोग्य वस्तुको नियमित अनुगमन गरिरहेको छ।


प्रतिक्रिया