अखबारपत्र
काठमाडौं, भदौ २८ । काठमाडौंको सडकमा एकाएक एक अनौठो दृश्य देखियो । त्यो दृश्य थियो नेपाली सेनाको विमान सडकमै गुडिरहेको। सदा आकाशमा मात्र उड्ने विमान सडकमै गुडिरहेको देखेपछि यात्रा गरिरहेका तथा आसपासका क्षेत्रमा स्थानीय पनि दंग मान्दै कौतुहलतापूर्वक नियालेका थिए ।
शनिबार साँझ नेपाली सेनाको विमान गुडाएरै नारायणहिटी संग्रहालय लगिएको हो । पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेसँगै राजा विरेन्द्रले प्रयोग गरेको यो विमान नारायणहिटी लगिएको हो ।
विमानस्थलबाट नारायणहिटीसम्म लैजाने विमानको पखेटा निकालिएको थियो भने अगाडीबाट गाडीले तानेको थियो । तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक पप्रहरीलाई सास्ती पनि भयो ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीका अनुसार सो विमान विमानस्थलबाट संग्राहलयमा लैजान सेनालाई अनुमति दिइएको थियो । गत वर्ष नै रक्षा मन्त्रालयले पूर्वराजाहरुले प्रयोग गरेका विमान र हेलिकोप्टर नारायणहिटी संग्राहलयमा राख्ने निर्णय गरेको थियो ।
यो विमान वि। सं। २०३१ मा नेपाल ल्याइएको थियो । यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए ।
विमान तीनकुने, नयाँ बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, जमल हुँदै नारायणहिटी दरवार संग्रहालय पुर्याइएको हो ।
विमान सडकमा गुडाएर लैजाने क्रममा तीनकुनेमा रेलिङमा पछाडिको भाग ठोक्किएपछि केहीबेर नेपाली सेना र ट्राफिक प्रहरीलाई सास्ती परेको थियो ।
यसअघि नै राजा वीरेन्द्रले प्रयोग गरेका हेलीकप्टर संग्राहलयमा लगिसकिएको संग्राहलयका प्रमुख भेषनारायण दहालले बताए ।