अखबारपत्र:काठमाडौं, पुस २ ।सिरहामा जन्मिएका सन्तोष साह बिबिसी मास्टर सेफ यूके २०२०’ को टप ३ मा पुगेका छन् । साह ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणको मास्टर सेफको टप ३ भित्र परेका हुन् ।
आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनले मास्टर सेफमा यो स्थानसम्म पुगेका हुन् । बुधबार बेलुका बिबिसी वानमा प्रसारण भएको बिबिसी मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट ३ सेफको स्थानमा आफूलाई पुर्याएका हुन् ।
भादगाउँले टोपी लगाएर बिबिसी मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए । सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए ।
पकाएको खाना अतिथि सेफ र निर्णायकहरुलाई उनले बाल्यकालमा आमाले जस्तै टिफिन बक्समै सर्भ गरेका थिए । ‘म सानो छँदा धेरै दु:ख र गरिबी बाँचे,’ सन्तोषले भने, ‘अब म आमालाई सुख दिन चाहन्छु ।’
अब यो प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । यो प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।