भारतसँगको झडपमा मारिएका सैनिकबारे ‘नकारात्मक’ पोष्ट गर्ने ६ चिनियाँ पक्राउ




भारतसँगको झडपमा मारिएका सैनिकबारे ‘नकारात्मक’ पोष्ट गर्ने ६ चिनियाँ पक्राउ

अखबारपत्र:काठमाडौँ,फागुन  ११ । चीनले गत जुनमा भारतीय सैनिकसँगको झडपमा परी मारिएका सैनिकहरूबारे सामाजिक सञ्जालमा ‘नकारात्मक’  पोष्ट गर्ने कम्तिमा छ जनालाई पक्राउ गरेको छ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार ती सामाजिक सञ्जाल प्रयोगकर्तालाई तीन वर्षअघि ल्याइएको बहादुर र सहिदहरूको अपमान गर्न नपाउने कानुनअन्तर्गत अनुसन्धान र सजाय भएको हो।

चीनले  गल्वानमा भारतीय सेनासँग भएको झडपमा ज्यान गुमाएका चिनियाँ जनमुक्ति सेनाका चार जनालाई शुक्रबार मरणोपरान्त सम्मान गरेपछि उनीहरूले ज्यान गुमाएको खुलासा भएको थियो।

गत जुनमा गल्वान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। झडपमा चिनियाँ पक्षतिर पनि हताहती भएको हुनसक्ने आशंका गरिएको थियो तर बेइजिङले औपचारिक जानकारी दिएको थिएन।

सरकारले ढिला गरी चार जना सैनिकले ज्यान गुमाएको खुलासा गरेपछि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले घटनामा ज्यान गुमाउनेहरू सहिद नभएको र गल्वानमा अरू धेरै सैनिक मारिएको हुनसक्ने भन्दै ब्लग र सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।

पक्राउ परेकामध्ये तीन जना आफैं प्रहरी कार्यालय पुगेका थिए।


प्रतिक्रिया