अखबारपत्र:अमेरिका, पुस २३।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन भित्रै पसेर आक्रमण र तोडफोड गरेका छन्।
ट्रम्पका समर्थक सुरक्षा तारबार भत्काएर संसद भवनको झ्यालढोका तोडफोड गर्दा प्रहरीले गोली चलाउदा एक जना महिलाको मृत्यु भएको छ।
अवस्था तनावग्रस्त बनेपछि राजधानी वासिङ्टनमा कर्फ्यू लगाइएको छ। वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्।
अमेरिकी कांग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला प्रदर्शन भएको बीबीसीले जनाएको छ ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र छिरेका थिए । त्यसपछि बहस नै रोक्नु परेको थियो । ट्रम्पका समर्थकहरुले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएका छ । अवस्था नियन्त्रण बाहिर गएपछि थप सुरक्षा बल तैनाथ गरिएको थियो ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अघि बढाउन दिन आग्रह गर्नुभएको छ ।
उनले सम्बोधनका क्रममा ट्रम्पका समर्थकले गरेको विरोध नभएर विद्रोह भएको समेत बताए ।
संसद भवनभित्रै प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप समेत भएको थियो। प्रदर्शनमा ६ जना गम्भीर घाइते छन् । दुई दर्जन पक्राउ परेका छन् भने सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन्।