अखबारपत्र:काठमाडौँ, कात्तिक २७। विश्वभर कोरोनाको मृत्युदरमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फो जनाएको छ ।
योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख ८८ हजार ८ सय ९५ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४६ प्रतिशत हो । हालसम्म विश्वभर पाँच करोड २४ लाख १० हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कूल संक्रमितमध्ये ६९.९४ प्रतिशत अर्थात् तीन करोड ६६ लाख ५४ हजार ४९५ जना उपचारपछि निको भइसकेका छन् । बाँकी एक करोड ४४ लाख ६७ हजार ६१४ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । त्यहाँ दुई लाख ४७ हजार २७४ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार ३५५ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६३ हजार ४०६ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २८ हजार १६४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९५ हजार ८४२, बेलायतमा ५० हजार ३६५, इटलीमा ४२ हजार ९५३, फ्रान्समा ४२ हजार ५३५, स्पेनमा ४० हजार १०८, इरानमा ३९ हजार ६६४, पेरूमा ३५ हजार ११, कोलम्बियामा ३३ हजार ३१२, अर्जेन्टिनामा ३४ हजार ५३१ तथा रसियामा ३१ हजार ५९३ जनाको मृत्यु भएको तथ्यांक छ ।