एजेन्सी, असोज १७। कोरोना संक्रमित डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ । शुक्रबार दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लगिएको हो ।
राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ ।
अहिले ट्रम्प वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ ।
अहिले उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो ।
समाचारमा उल्लेख भए अनुसार ट्रम्प चिकित्सकको सल्लाह अनुसार स्वास्थ्य सावधानी अपनाएर अस्पताल बस्नेछन् । उनले अस्पतालबाटै सबै काम गर्ने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले सामान्य तरिकामा वार्षिक स्वास्थ्य परीक्षण यही अस्पतालमा गराउँदै आएका थिए ।
सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्पको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । मिडियासँग कुरा गर्दै ट्रम्पले आफू अस्पताल जान लागेको र आफ्नी श्रीमतीको अवस्था सामान्य रहेको जानकारी दिँदै आफ्ना शुभचिन्तकलाई धन्यवाद दिएका छन्।