अखबारपत्र
मुम्बइ, भाद्र २२ । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको विषयमा भइरहेको अनुसन्धानका क्रममा ठूलो कारवाही भएको छ । नारकोटिक्स कन्टेल ब्यूरोले रिया चक्रवर्ती, उनका भाइ शोभिक लगायतको घरमा छापा मारेको छ र सुशान्तका पूर्व म्यानेजर रहेका सामुएल मिरान्डालाई गिरफ्तार गरेको छ । मिरान्डाको घरमा छापा मारेपछि उनलाई पक्राउ गरिएको हो।
एनसीबीले रिया चक्रवर्तीको घरमा छापा मार्ने काम जारी छ । यहाँ पनि कुनै बलियो आधार भेटिएमा रिया र शोभिक पनि गिरफ्तार हुन सक्छन् । एनसीबीले अहिलेसम्म सुशान्तसँग जोडिएको लागूऔषधको मामिलामा ५ जनालाई गिरफ्तार गरिसकेको छ । उनीहरुले रिया, उनका भाइ शोभिक र मिरान्डासँग सम्बन्ध भएको स्वीकार गरिसकेका छन् ।
एनसीबीको टिमले रिया र सामुएलको घरमा मोवाइल, हार्ड डिस्क र ल्यापटपको जाँच गरेको छ । रियाको कारको पनि जाँच गरिएको छ । छापा मारिसकेपछि शोभिकलाई पनि गिरफ्तार गरिने बताइएको छ । एनसीबी अपरेशन सेलमा डिप्टी डाइरेक्टर केपीएस मल्होत्राले भने ‘यो सबै एक प्रक्रिया अन्तर्गत भइरहेको छ । हामी शोभिक र सामुएलको घरको जाँच गरिरहेका छौं ।’