मल उपलब्ध गराउने विषयमा शेख हसिना र प्रम-ओली बीच कुराकानी




मल उपलब्ध गराउने विषयमा शेख हसिना र प्रम-ओली बीच कुराकानी

दिवाकर उप्रेती,समाचारदाता 

काठमाडौं, भदौ १६ गते ।  प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच मंगलबार दिउँसो टेलीफोन संवाद भएको छ । दुई प्रधानमन्त्रीबीच केहीबेर अघि संवाद भएको उहाँको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

नेपाली कृषकका लागि रासायनिक मल अभाव भएपछि छिमेकी मुलुक बंगलादेशसँग सहयोग माग्ने पहल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेपछि दुई प्रधानमन्त्रीबीच आज टेलिफोन संवाद भएको कृषी मन्त्री घनश्याम भुषालले जानकारी दिनुभयो ।“एक महिना अघि नै मैले मन्त्रीको हैसियतले बंगलादेशको कृषि मन्त्रीसँग कुरा गरेको थिएँ, सो विषयमा दुवै देशका प्रधानमन्त्रीबीच कुरा भएमा दिन सकिने जवाफ आयो, सोहीअनुसार मैले हाम्रो प्रधानमन्त्रीसँग कुरा गरेको थिएँ” मन्त्री भुषालले भन्नुभयो ।

तत्कालका लागि सहयोग गर्ने हिसावले मात्र नेपाललाई ५० हजार टन युरिया सहयोग गर्न सकिने जवाफ बंगलादेशको कृषि मन्त्रालयले दिएको सोहीअनुसार पहल भएको हो मन्त्री भुषालले अखबारपत्रलाई भन्नुभयो । बंगलादेशसँग कुरा गर्नुअघि छिमेकी मुलुक चीन र भारतसँग पनि सोहीअनुसार पहल भएको मन्त्री भुषालले बताउनुभयो । तर भारतसँग ‘स्टक मल’ नरहेको र चीनबाट ल्याउन तुलनात्मक रुपमा बढी खर्च लाग्ने भएपछि विकल्पमा बंगलादेशसँग कुरा भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीकाअनुसार बंगलादेशका प्रतिनिधिहरुसँग छलफल भएपछि सोबारेमा परराष्ट्र मन्त्रालयलाई लेखी पठाइएको थियो । आज दुई देशका प्रधानमन्त्रीबीच भएको टेलीफोन संवाद मलको विषयमा नै भएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया