काठमाडौं। २३८ दिनदेखि मानवअधिकार र कानूनी राजको मागमा भोकहड्तालमा रहेकी इब्रु तिम्तिकको अस्पतालमा मृत्यु भएपछि सर्वत्र विरोध शुरू भएको छ।
यो घटनालाई लिएर युरोपियन युनियन (ईयू) ले दुःख व्यक्त गरेको छ। एकजना कथित आतंकवादी संगठनको सदस्यलाई दिइएको सजायँविरुद्ध तिम्तिकलगायतले भोकहड्ताल गरेका थिए।
तिम्तिकअघि अन्य तीन बन्दीको मृत्यु भइसकेको छ। जसमा हेलिन बोलेक, इब्राहिम गोकेर र दुई जना सांगीतिक समूह गु्रप योरुमका सदस्य रहेका छन्।
टर्कीमा मानवअधिकार र न्यायप्रणाली कमजोर रहेको यी घटनाले पुष्टि गरेको पनि ईयूले बताएको छ। टर्कीमा तत्कालै कानून र मौलिक स्वतन्त्रमा प्रगति अत्यावश्यक रहेको पनि संस्थाको भनाइ छ।
को हुन् इब्रु तिम्तिक ?
टर्कीमा जन्मिएकी ४२ वर्षीया तिम्तिक पेशाले वकील हुन्। उनी मानवअधिकारकर्मी पनि हुन्। टर्की सरकारले उनीलगायत अन्य १७ जना वकीललाई सेम्टेम्बर २०१७ मा पक्राउ गरेको थियो। उनीहरू सबै त्यहाँको प्रोग्रेसिभ लयर्स एशोसियसनका सदस्य हुन्।
२०१९ मार्चमा उनीहरुलाई गैरकानुनी संगठन ‘रिभोल्युसनरी पिपुल्स लिबरेसन पार्टी फ्रन्ट’को सदस्य रहेको आरोप लगाइएको थियो। यसलाई उग्र वामपन्थी संगठन मानिन्छ।
तिम्तिकले २ जनवरी २०२० देखि भोकहड्ताल शुरू गरेकी थिइन्। उनले आतंककारी संगठनको सदस्यता लिएको भन्ने आरोपबारे निष्पक्ष छानविनका साथै एकजना प्रगतिशील वकिलको मृत्युको जाँच माग गरेकी थिइन्।
मृत्यु हुने बेला उनी केवल ३० किलोकी थिइन्। टर्कीको विपक्षी पार्टीले तिम्तिकको मृत्युलाई लिएर विरोध जनाएको छ।
तिम्तिक संलग्न भनिएको फ्रन्टलाई टर्कीमा थुप्रैको ज्यान जाने गरी भएको हमलाको र २०१३ मा अमेरिकामा भएको आत्मघाति वम हमलाको समेत जिम्मेवार बताइन्छ।
(एजेन्सी)