राजनीतिः चुमुर्किएको सिद्धान्त; विचार डिम्बिका




राजनीतिः चुमुर्किएको सिद्धान्त; विचार डिम्बिका

पोल वेल्सटनले एक पटक भनेका थिए –राजनीति ठूलो पैसा शक्तिको बारेमा होइन; यो त मानिसहरुको जीवन सुधारको बारेमा हो । वास्तवमा राजनीति नागरिकको जीवन सुधारको निम्ति हुनुपर्छ । सुदुर भविष्य, भावी पिढीको सुन्दर जीवनको कल्पनामा हजारौ व्यक्तिहरुको शहादत प्राप्त गरे । के यो उच्च आत्मा उत्सर्ग केवल केही अमुकपात्रहरुलाई झण्डा फहराउदै सुरक्षा, गार्ड लिएर ध्वनी प्रदुषण गर्दै लावालश्करका साथ सडकमा गाडी दौडाउन हो ?

गत एक-डेढ वर्ष यता नेपालको राजनीतिलाई नियाल्दा खास गरेर भूपू नेकपा र एमालेमा भएको कुर्सी लडाई देख्दा निराशा खुमारी बन्छ । राजनीति निर्जीव लाग्छ । मथिङ्ग्ल परपर्याइ रहन्छ । नागरिकहरु बुख्याचा बनाइएको देख्दा मन कुडिएर आउछ । कस्तो वशीकरण गरेका हुन ? राजनीतिका मुसुमुन्द्रेहरुको फतर्को सुन्दा रिङ्गटा लागेर आउछ । नेपाली नागरिकहरुलाई परपजनी गरेको विरुद्ध पञ्चायती व्यवस्था प्रति घृणा जागेर आफु वाम आन्दोलनमा होमिएको सम्झना हुन्छ ।

०४३/०४५ साल ताका पाल्पा क्याम्पस पढ्दा नेविसंघ र अखिल बिच विद्यार्थी तानातान गर्ने होडबाजी चल्थ्यो । आफ्नो पक्षमा पार्न विभिन्न तानावाना बुनिन्थ्यो । जानी–नाजानी सत्य–असत्य बोलेर होस या सपना देखाएर होस आफ्नो प्रभावमा पारिन्थ्यो । त्यतिबेला गुल्मी, अर्घखाँची र स्याङजा तिरबाट आउने कतिपय विद्यार्थी मित्रहरुलाई स्टोभमा खाना पकाउन नआउने हामी उनीहरुको कोठमा गएर स्टोभ बाल्न सिकाउथ्यौ र अखिल बनाउथ्यौ । कस्तो उर्जा, उमंग र उत्साह थियो। एउटा सुखद भविष्यको परिकल्पनामा आत्म उत्सर्ग गर्न तयार थियौ । कम्युनिष्टहरु संजीवनीहुन जस्तो लाग्थ्यो । जनताका सारा पिर,मर्का उपचारक, कस्तो आदर सम्मान थियो । भूमिगत नेताहरुलाई देख्न पाउँदा वैतरणी तरे जस्तो लाग्थ्यो । कस्तो त्याग, कस्तो आर्दश, कस्तो सर्मपण ! ओहो भगवान नै थिए कम्युनिष्टहरु हाम्रा लागि ! कम्युनिष्ट व्यवस्था, सरकार आएपछिको सुखद जिन्दगीको सपनामा सारा कुरा त्याग गरेर आन्दोलनमा सर्मपण गरियो । विडम्बना, आज तिनै कम्युनिष्ट भनिएकाहरु केबल हड्डीरुपी सत्ताको निम्ति
हारालुछ गर्दैछन । हामी कर तिरेर उनीहरुलाई पाल्दै छौ । आफू टाट पल्टिएर भिखमंगा हुँदा पनि उनीहरुलाई पोसेकै छौ ।

०४६ को आन्दोलन समाप्ति पछि सत्ताको स्वादले विस्तारै विस्तारै यिनिहरु विग्रिदै गए । कम्युनिष्टबाट कमाउनिष्ट भए । भ्रष्ट्राचार गरेर पैसाको बिटो सिरानी बनाएर सुत्न थालेपछि सब सिद्धान्त, त्याग बलिदान समाप्त भयो । सत्ता, पैसा र शक्ति प्राप्त गरेपछि तानाशाह बन्दै नविग्रिएका कम्युनिष्टहरु कहाँ छन र ? एमाले फुटेर माले बनेपछि एकपटक बुटवलमा आमसभा थियो मोदनाथ बोल्दै गर्दा माले बनेकाहरु कालो झण्डा लिएर आए । मोदनाथ भन्दै थिए –”यी बिग्रेका कम्युनिष्ट हुन । कम्युनिष्ट बिग्रियो भने सडेको कुराउनी जस्तो गन्हाउछ “। हो अहिले नेपालका सत्ता लोलुप, भ्रष्ट, द्रव्य पिचाश कम्युनिष्ट नामधारी जनतामाराहरु विस्टा भन्दा पनि बढी गन्हाएका छन । अचम्म के लाग्छ भने ओली र माकुनेको समर्थन र विरोधमा दुई खेमा बनेर उर्जा समाप्त पार्दै छन् ।

कहाँ गए तिनका त्याग, बलिदान, आर्दश ? कता विलाए सिद्धान्त, माक्सवाद- लेनिनवाद-माओ विचार धारा अनि जबज ? सत्ता प्राप्त पछि सबै दृष्टिकोण, सिद्धान्त, धोति न टोपी भए, रह्यो त केवल एउटै कोण एउटै वाद – अर्थकोण, कुर्सीवाद । यो त ठिक त्यस्तो भयो कि दिनभर ब्रम्ह्चर्यको पालन गर्नुपर्छ भनि भनी भट्याउने बाबा’ले साँझ परेपछि आफ्नै चेलीहरुसँग यौन प्यास मेटाउने जस्तै । अरुलाई आर्दश सिकाउने आफू मौका परस्त बन्ने । भनिन्छ निभ्न लागेको बत्ति हलक्क बल्छ । ठिक त्यस्तै पारा नेपाली कम्युनिष्टको छ । अब यही पारा रहिरह्यो भने अबको १० वर्षभित्र कम्युनिष्ट टर्च बालेर हेर्न खोज्नपर्छ किनकी भाई फुटे गवार लुटे । बस आवश्यकता छ त प्रजातान्त्रिक सममाजवादी वैकल्पिक शक्ति को जो कम्तिमा रोगी नेता मुक्त होस । जब देश यी रोगी नेता मुक्त हुन्छ संमृद्ध हुन्छ । यति मात्रै हो त्यो बेलासम्म देश बच्छ कि बच्दैन भन्ने । फिजीकरण त ललगभग भैसकेको छ, अब सिक्किमिकरण नभए हुन्थ्यो ।

कौवाली गाउने लायक बनाएको नेपाली कम्युनिष्ट राजनीति विगार्नमा ओली जति दोषी छन् त्यति दोषी पुकदा र माकुने तथा यिनका हुक्के, बैठके र ढोकेहरु पनि छन । दुई तिहाई बहुमतका साथ जब दोश्रो पटक ओली प्रधानमन्त्री बने शुरुवातबाटै यिनले आफ्नो हर्कत देखाउन थालेका थिए ।
राष्ट्र भन्दा आसेपासे प्रधान बनेर काम गरे । भ्रस्ट्राचारको लगाम खोलिदिदा समेत,  भूपू नेकपाका यी मालिकहरु के हेरेर बसेका थिए ? ओलीसँग पदको बाग्रेनिङ सर्प पाल्न पैसा माग्ने बाहेक के गरे ? अहिले फलाके जस्तो ओली खत्तम थिए भने पार्टीबाट गलहत्याउन किन सकेनन ?..सके दैलो देखे गरेहुन्छ ? ऐंजेरु रोप्ने अनि काक्रा खोज्ने ? के पार्टीको एक जनामात्रै अनुशासित हुनुपर्छ भन्ने छ ? अरु हुनु पर्दैन ? पुकदालाई त लाज लाग्नुपर्ने हो, नेपालका कथित भूपूहरु मध्य सबैभन्दा धेरै सुविधा यिनैले लिएका छन । राज्य दोहन गर्नमा यी सब बराबरका हिस्सेदार छन ।

“मेरो त विनम्र आग्रह छ एमाले नेता–कार्यकर्तालाई कि कृपया कुनै खेमामा नलागी समाजवादी आन्दोलनमा लाग्नुहोस । पार्टी र राजनीति बचाउनुहोस, तब देश बच्छ । ओली, माकुने र पुकदाको कुर्सी लडाइमा साक्षी नबस्नुस, देश विलय हुनसक्छ” ।

देशको समग्र उथलपुथल राजनीतिलाई अवलोकन गर्ने हो भने शेर बहादुर देउवा, खड्ग प्रसाद आली, माधव कु. नेपाल पुष्प कमल दाहाल र बाबुराम भट्टराई बराबरका दोषी छन । यीनका पछि अरु धेरै नाम गन्न र थप्न सकिन्छ । रामचन्द्र, सिटौला, झलनाथ, रावल, अग्नि, नारायण कम देषी छैनन । यी र यस्ता अन्य कतिपय नेतृत्वपंक्तिका कोही पात्रलाई चोख्याउने र केही पात्रहरुलाई हिल्याउने गर्नु घातक हुनेछ । उनीहरुको भौतिक साधन श्रोत र एैयासी जिन्दगीलाई हेरौ त, स्पष्ट हुन्छ । ०४६ देखि आजसम्मका काम, व्यवहार, र भाषणलाई नियालौ त स्पष्ट हुन्छ ।
यी उल्लेखित पात्रहरु कोही राज्यकोषबाट रोग निको पार्न कुर्सीको लागि मरिहत्ते गरेकाछन भने कोही विदेश सयर गर्न त कोही श्रीमति र परिवारलाई अथाह सम्पति थुपारिदिन । न विचारले, न सिद्धान्तले न दृष्टिकोणले संचालित छन यिनिहरु त आफ्नो नितान्त व्यक्तिगत स्वार्थबाट प्रेरित छन् । अझै पनि यी देशको क्यांसरहरुको पछि हुल बाँधेर लाग्यौ भने न हाम्रो भविष्य छ न देशको ।
स्वस्थ विचार कार्यको उर्जा हो । सकरात्मक सोच, कर्तव्य प्रतिको समर्पण भयो भने मात्रै राजनीति बन्छ । तर यी पात्रहरुबाट त्यसो हुनेवाला छैन । कति गाली गर्नु कति आरिस पोख्नु, किनकी यी द्रव्यमाराहरु कुनै हालतमा सुध्रिनेवाला छैनन । दृष्टिकोणमा सुधार भए पो व्यक्तिमा र व्यक्तिको कर्ममा सुधार हुन्छ ।
हाम्रो देशको वर्तमान राजनैतिक परिदृश्यले नेपालमा यो आयतीत संसदीय प्रणालीनै अफाब भएको दर्शाउछ । ०७२ सालको जडेउरी संविधान लत्रिइसकेको छ, मक्काइएको छ । हेर्नुस त हामी नेपालीको नियती राजेन्द्र महतो जस्तो कुपात्रलाई उप-प्रधानमन्त्री मानेर उ फतफताएको हेरेर बस्नु परेको छ । यस्तै चाला हो भने एक दिन उ प्रधानमन्त्री भएर डर्काछ -नेपाल भारतकै प्रान्त हे । हुन त हाम्रो देशको सार्वभौमिकता संविधानको पन्नामा कैद छ, राष्ट्रियता खोपीमा बन्द छ ।
राष्ट्रियताको नारा फुकेर विदेशीहरुको भजन किर्तन गाउने भ्रष्ट दलालहरुले सिमा पारी पु¥याइसकेका छन । उनका मालिकको पाउमा सर्मपण गरिसकेका छन् । नेपाललाई रक्षा गर्न ढिलो भैसकेको छ । भित्र–भित्र खोक्रो पारिसकेका छन ।
अब राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा विश्वास गर्नेहरु संघीयता जस्तो युरोपियन र भारतीय गुलामहरुले लादिदिएका प्रणालीका विरोधीहरु एक हुन जरुरी छ । नेपाली, देश र देशको स्वाभिमानको रक्षा गर्न नेपालवादी झण्डा बोकेर मैदानमा उत्रिन आवश्यक छ । देशभक्त, राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादीहरुले कित्ताकाट गर्न आवश्यक छ । निर्वाचन आयोगमा राजनैतिक दल दर्ता गरेर झोलामा पार्टी लिएर हिड्नुमा कुनै तुक छैन । दल दर्ता गरेर अवसरको च्याखे थापेर बस्दा, घरभित्र वैरी पसि सकेको हुन्छ, बेलैमा होस पु¥याऔ । वर्तमान आयतित भ्रष्ट, अराष्ट्रिय प्रणालीको विरुद्ध आम नेपाली जागरुकताका साथ उठौ, जागौ र यी भ्रस्ट नेताहरु, नेपाल बेच्न तम्तयार अमेरिकी, युरोपियन र भारतिय दलालहरुलाई सार्वजनिक रुपमा कार्वाही गरौ ।
नेपाल र नेपालीको जय होस ।
अस्तु ।

जे.एन. घिमिरे, काठमाण्डौ 


प्रतिक्रिया