बलात्कारः नादिरशाही पथ




बलात्कारः नादिरशाही पथ

जे.एन.घिमिरे ,काठमाण्डौ

अखबारपत्र:  असोज २८। कुनै स्त्रीलाई उसको इच्छा विरुद्ध जर्बजस्तीसँग सम्भोग गर्ने काम, बलपूर्वक सतीत्व नष्ट पार्ने काम बलात्कार हो भनी नेपाली बृहत शब्दकोशले परिभाषित गरेको छ ।

कुनै पनि व्यक्ति चाहे त्यो महिला होस या पुरुष यौनाङ्ग या गुदा मैथुन तथा ओरल,सम्बन्धित व्यक्तिको अनुमति विना गरिन्छ भने त्यो बलात्कार नै हुन्छ । बलात्कार एक जघन्य अपराध हो, जतिसुकै निन्दा गरेपनि कम हुन्छ ।

यसले बलात्कारी तथा बलात्कृत दुवैैको जिन्दगीलाई खुरिखण्ड पारिदिन्छ । यहाँ सम्मकी (Honor Killing) इज्जतको लागि गरिने हत्याको तह सम्म आइपुग्छ । २/३ मिनेटको शारीरिक आनन्दको निम्ति जिन्दगी तवाह हुन्छ । करबलका साथ यौन आक्रमण गरेर जीवनभर पछुताउनु बाहेक केही रहदैन ।

ऐतिहासिकता
पौराणीक ग्रीस र रोममा बलात्कारलाई व्यक्ति हत्या सरह मानेर बलात्कारीलाई मृत्यु दण्ड दिने गरिन्थ्यो । चौधौ शताब्दीमा इंगल्याण्डमा बलात्कारीलाई बलात्कृत व्यक्तिले दुबै आँखा झिकिदिने या दुबै अण्डकोष झिकिदिने गर्थे ।

पछि युरोपतिर बलात्कृत व्यक्तिलाई सामान्य आर्थिक उपलब्ध गराएर केस रफादफा पारिन्थ्यो । समय क्रममा केटीलाई बाउआमाको अनुमति बिना जबर्जस्ती उठाएर लगिन्थ्यो र विवाह गरिन्थ्यो । त्यसकारण यौनदोष लाग्दैनथ्यो । केटी समर्पित हुन बाध्य हुन्थी, खास गरेर युरोपतिर तथा भारतमा समेत बाउ–आमा या पति तथा सो घरको प्रमुख व्यक्तिलाई बदला लिन उक्त घरका छोरी पत्नि आदिलाई बलात्कार गर्ने प्रचलन निकै फस्टाएको थियो ।

युद्ध, औपनिवेशिक समय तथा राजनैतिक द्धन्दको समयमा त झन बलात्कार अग्र स्थानमा हुन्थ्यो । राजाले सयौ रानीहरु बनाउने सिपाही तथा भारदारहरुले मौका पायो कि बलात्कार गर्ने सामान्य कुरा हुन्थ्यो । सामान्ती सरकारले धेरै महिलाहरुलाई बलात्कार गरेको छ ।
नेपालमा पनि राजामहाराजाका कुरा छौडौ गाँउका सामन्तहरुलाई छोरी जवान भएपछि नजराना चढाउनु पथ्र्यो । उसलाई मनलागे ‘रखैल’ बनाएर राख्थ्यो नत्र केहिदिन पछि छाडिदिन्थ्यो ।
गाँउमा कसैले विवाह गरेर ल्याएको छ भने पहिलो रात दुलही सामन्तसँग सुत्नु पथ्र्यो अनिमात्रै दुलाहले भोग गर्न पाउथ्यो ।अति अत्याचारको शिकार थिए गाँउबासीहरु यस्ता

अपराधले पराकाष्टानै नाघेको थियो । समयको आधी तुफानले धेरै चीज हल्लाइदियो तर बलात्कार स्वरुप फेरेर जिउदै रह्यो ।
नमिता सुमिता थिए काण्ड यही देशमा घट्यो प्रधानमंत्री सुर्य बहादुर थापा थिए । विरोधका स्वरुप बुलन्द भए, सडक तात्यो, आजका सत्ताधारीहरुले आन्दोलन गरे । अहिलेका प्रधानमंत्रीका प्रेस सल्लाहकार सुर्य थापाले पछि सम्म कलम चलाए । किशोर श्रेष्ठहरुको कलम चल्यो तर अहिले सम्म खुला रुपमा बलात्कारी र हत्यारा न समातियो न कुनै कारवाही कसैलाई भयो ।

अप्रत्यक्ष–प्रत्यक्ष रुपमा बलात्कारी राज्यको संरक्षणमा रह्यो । त्यस्तै घटना निर्मला पन्त बलात्कार र हत्यामा पनि देखियो । निर्मला पन्तको बलात्कारी र हत्याराहरु राजनैतिक निगाहमा छाती खोलेर डुलेका छन । अझ गृहमन्त्रीले नै यस्ता घटना हिजो पनि भएका थिए आउदा दिनमा समेत हुनेछन भन्ने जस्ता अभिव्यक्ति दिदै हिडेका छन ।
पंचायतकालमा बलात्कार त्रासदीपूर्ण थियो ।

मलाई जानकारी छ साँझ परेपछि बुटवल, भैरहवा तिर चेलीहरुलाई बाहिर निस्किन दिइन्नथ्यो । तत्कालिन बलात्कारी गुण्डा नाइकेहरुले लामो समयसम्म सत्ताको स्वाद चाखे । पंचायतकालमा भूमिगत रहदा कति दानवहरु जन्मिए लामै फेहरिस्त बन्न सक्छ । विडम्बना, लुक्न स्थान पनि दिनुपर्ने,चेली बलात्कृत पनि हुने । कति घटना बाहिर आए, कतिपय भित्रै दबाइए ।
भ्रष्ट्राचार विरोधी अभियान्ता शारदा भूषाल झाले आफ्नो पुस्तक ‘धरातल’मा मोदिनाथ प्रश्रितलाई बलात्कारको आरोपसम्म लगाएकी छन ।
द्धन्दकालमा अनगिन्ती बलात्कारका घटनाहरु थिए । जबरजस्ती उठाएर लगिएका युवतीहरु अधिकांश बलात्कृत हुन्थे । जो पछि यौनकर्मी बनेका दृष्टान्त पाइन्छन ।

बलात्कारका कारणहरु
बलात्कार घटनाका जतिपनि अनुसन्धानहरु भएका छन मुख्यतः पुरुष आक्रमणकारीको क्षेत्रबाट मात्रै भएका छन मतैक्य विचार भने छैनन । फरक घटनामा फरक वस्तुस्थितिले भूमिका खेलेको हुन्छन । मूलतः यस्ता कारणहरु दर्शाउने गरिन्छ । बढोत्तर प्राकृतिक आवृति, वैयक्तिक कारणहरु, आर्थिक, सामाजिक तथा सामाजिक वातावरणीय मान्यताहरु, सामाजिक तनाव, पारिवारिक ,कानुनी र न्यायको पहुँच नहुनु या झन्झटिलो हुन र वेरोजगारी।

कारणहरु जेसुकै हुन, बलात्कार सामाजिक अपराध हो, र यसलाई कुनै हालतमा पनि छुट दिन मिल्दैन । बाहानाहरु धेरै हुन सक्छन तर अपराध कुनै बाहानाको पर्दाले ढाकिदैन । कुनैपनि देशमा वेरोजगार युवा पालिनु केही हदसम्म अपराध निम्त्याउनु हो ।

खाली दिमाग शैतानको वास । समाज अभियान्ता र राज्य सचेत हुन जरुरी छ । बलात्कारको घटना घटनुमा महिला वर्गको भूमिकालाई पनि कम आक्न सकिदैन ।

सुन्दरी बन्ने निहुँमा पारदर्शी पहिरनले शरीर देखाउने प्रतिस्पर्धानै चलेको छ । सारी लगाउँदा समेत नाइटो र पिठ्यु नदेखाइ हुन्न । छोपिने कुरा नाङ्गा हुन्छन । यहाँसम्म कि ट्राउजर भित्रका योनाङ्गको आकार समेत स्पष्ट देखिन्छ । चोर आयो भन्नुभन्दा चोर आउनै नदिने वातावरण बनाउँदानै राम्रो होलानी । ट्वीटरमा कतिपय केटीहरुको ट्वीट पढ्दा लाज लागेर आउँछ ।

सामाजिक संजालमा इन्टरनेटको दुरुपयोगले बलात्कारको आगोलाई  घिउ थपेको हुन्छ । नीला चित्रहरु भरमार छन, नेपाली जोडीहरुको जापान काण्ड,अष्ट्रेलिया काण्ड, ज्योति काण्ड, नम्रता काण्ड, यस्तै काण्डै काण्ड सामाजिक संजालमा छताछुल्ल छन । यहाँ पढेका सढेकाहरुले समाज ध्वस्त पारेका छन । नाङ्गीनेहरुले साधारण जीवनयापन गर्नेहरुको जीन्दगी तहस–नहस पारेका छन ।
अर्को डरलाग्दो कारण भनेको न्यायको पहुँच नहुनु, बलात्कारीलाई राजनैतिक संरक्षण प्राप्त हुनु र बलात्कारका घटनालाई समाजमै मेलमिलापमा परिणत गरिनु हो । यस्तै कारणले गर्दा समाजमा बलात्कारीको मनोबल बढेको र बारम्बार यस्ता घटना दोहरिएको पाइन्छ ।

सजाँयको विवाद
अहिले नेपालमा खास गरेर बालिकाहरु बढी बलात्कृत छन । अबोध ती बालिकाहरु जस्को राम्रोसँग योैनाङ्ग समेत विकास भइसेका छैन । देवीको रुपमा पुजिनुपर्ने ति कलिला नानीहरु बलात्कारका तारो बनेका छन । बलात्कार पछि गरिने हत्याको श्रृखला कहाली लाग्दो छ र झन भन बढदैछन ।

द राइजिंङ्ग नेपालले प्रस्तुत गरेको तथ्यांक हेर्ने हो भने गत वर्ष प्रहरीमा दर्ज केश २२३० बलात्कारी थिए भने ७८६ जना बालिका माथि बलात्कारको प्रयास गरिएको थियो । त्यस्तै यो साल २१४४ जना बलात्कृत भएका छन भने बलात्कार प्रयासको संख्या ६८७ रहेको छ ।

राइजिंङ्ग नेपालकै तथ्यांक अनुसार विगत दुई वर्ष दखि नेपालमा बलात्कारका घटना गृहमंत्रीको दाबी भन्दा धेरै आकासिएको पाइन्छ ।
बलात्कारीले कडा भन्दा कडा सजाँय नपाएको कारणले गर्दा अभियान्ता तथा नागरिक स्तरबाट फाँसी अर्थात मृत्युदण्डको माग बारम्बार गरिदै आएको छ ।

हुन त विश्वमा भारत, साउदी अरेविया, बंगालादेश, जापान, इरान, पाकिस्तान क्यूवा, अमेरिकाको लुजियाना र फ्लोरिडा, चीन, सयुक्त अरब इमिरेट्स, उत्तर कोरिया, इजिप्ट जस्ता देशमा बलात्कारीलाई मृत्युदण्ड दिने प्रचलन छ ।

विकसित राष्ट्र तथा त्यस्ता देश जहाँ न्याय प्रणाली चुस्त,छरितो विवेकशील र द्रव्य प्रभावित रहित छन त्यस्ता देशमा मृत्युदण्ड स्वभाविक होला नत्र अपराधी छाती फुलाएर हिड्ने निरअपराधी मृत्युदण्ड पाउने नहोला भन्न सकिदैन ।

श्रीमतीले बलात्कारको आरोप लगाएका थुप्रै श्रीमानहरु अहिले पनि जेलमा कैद छन । आफु परपरुषसँग इल ुइलु गर्ने श्रीमानलाई बलात्कारको आरोपमा जेल कोच्नेहरुको संख्या पनि कम छैन । सही र तथ्यको आधारमा भइदिए त ठिकै हुन्थ्यो । रिसिवी साध्न थालियो भने समाजको स्वरुप कस्तो रहला ?

भावना, अनुराग आवेगमा गरिएका निर्णयहरु कति सार्थक होलान ? बालिकालाई बलात्कार पश्चात हत्या गरको देख्दा, सुन्दा त मृत्युदण्डनै दिनु पर्छ भन्ने लाग्छ । तर त्यसो गर्दा पनि भोलि आउने परिस्थिति झनै भयावह हुन सक्छ ।

अर्को कुरा बलात्कारीलाई मृत्युदण्ड दिदा एक झट्कामा मर्छ । उसलाई त यस्तो सजाँय हुनुपर्छ जो प्रत्येक दिन पछुताउदै घुट घुटकर मरोस । २०/२५ वर्ष कडा जेल सजाँय सक्दो कडा श्रम गर्दा पछुताउने वातावरण बन्छ । तर सत्य तथ्य भने प्रमाणित हुनुपर्छ । मृत्युदण्ड भन्दा कडा दण्ड उपयुक्त होला ।

समाधान
यस्ता सामाजिक अपराधका दैवीय र चमत्कारिक समाधान भने हुँदैन । विपरित लिङ्गिय आकर्षणको प्राकृतिक गुण त कसरी घट्ला र ? तसर्थ वैकल्पिक मार्ग नै उत्तम हुन्छ । मुलरुपमा वैयक्तिक सचेतना नै हो । सोचको दायरा फराकिलो पार्न, जीवन लक्षीत कार्य प्राप्त गर्न, मानविय संम्वेदना बुझ्न, आफ्नो जन्मेको सार तत्व बुझ्न सम्यक शिक्षानै चाहिन्छ ।
हुन त माक्सवादलाई देवमंत्र मान्नेहरुले नैतिक शिक्षाले पोलेर आगोमा झोँसे तर पनि यसको अपरिहार्यता बुझ्न जरुरी छ । वास्तवमा केही पनि कोही होइन । मात्र अनुशासन कायम गरी जन्म साकार पार्न र अरुको कुभलो नगर्ने वातावरण निर्माण गर्न कानुन, नियम र संविधान चाहिने हो ।
बलात्कारका घटना कम गर्न या निस्तेज गर्न निम्न कुरा अपनाउन सकिन्छ ।
१. कडा भन्दा कडा सजाँयको व्यवस्था तर तथ्यमा आधारित ।
२.सम्यक शिक्षा, नैतिक शिक्षा तथा यौन शिक्षाका साथै जीउने कला/मार्गका बारेमा प्रशिक्षित पार्ने ।
३. बालबालिकालाई अभिभावक विना फेरो मार्न नदिने ।
४.घरको वातावरण प्रेमिल, बोलीवचन र व्यवहारमा तथा प्रेमपूर्ण ।
५. वेरोजगार युवालाई रोजगारीको अवस्था ।
६.महिलाहरुको अंग प्रदर्शनमा रोक ।
७.नशा मदिरा खुलेआम सेवन, विक्रि वितरण बिना लाइसेन्स मा प्रतिबन्ध ।
८.रेडलाइट एरियाको कानुनी मान्यता ।
९.श्रमशील, उद्यमशील र कर्तव्यपरायण नागरिक उत्पादन गर्न राज्यको प्रबल भूमिका ।
१०. कडा सुरक्षा प्रबन्ध ।
वास्तवमा सबैभन्दा ठुलो हतियार सोच हो । यौनलाई सामान्य प्राकृतिक रुपमा बुझौ । वैवाहिक जीवन चर्चा र पारिवारिक वातावरणमा रमाउन सिकौ । जीवनलाई एक लक्ष्य मानेर चलौ, बलात्कार आवश्यक पर्दैन । बलात्कार र बलात्कारीलाई घृणा गरौ ।


प्रतिक्रिया