नेपाल वायुसेवा निगम अब नयाँ दिशामा




नेपाल वायुसेवा निगम अब नयाँ दिशामा

अखबारपत्र :काठमाडौं, असोज २७ ।  नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रकाश पौडेलले आफ्नो पदभार ग्रहण गरेका छन् । संकटग्रस्त अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको ‘उद्धार’ गर्ने जिम्मेवारी सरकारले डिमप्रकाश पौडेलको काँधमा सुम्पेको छ ।

लामो इतिहास, विभिन्न कालखण्ड पारगर्दै यहाँसम्म आएको वायुसेवा निगम यतिबेला संकटग्रस्त अवस्थामा रहेको  छ । संकटग्रस्त अवस्थामा रहिरहदा, साठ्ठी बर्ष भन्दा लामो इतिहास बोकेको वायुसेवा निगमलाई पौडेलले उद्धार गर्न सक्लान ? जनचासोको विषय बनेको छ ।

जनचासोको विषय यो पनि  छ कि,के उनी नेपालको दोस्रो कुलमान बन्न सक्लान ? आम मानिस र सरकारको अपेक्षामा पौडेल कत्तिको खरो उत्रिन सक्नेछन यो समयले पक्कै देखाउने छ ।

निगमको ‘उद्धार’ गर्ने जिम्मेवारी सरकारले डिमप्रकाश पौडेलको काँधमा आइपर्दै गर्दा उनले भनेका छन ‘नेपाल एयरलाइन्स भित्रका कमि-कमजोरी सबै थाहा छन्, अब एक-एक गरेर सुधार्ने छु’ ।

निगमको महाप्रबन्धक नियुक्त गरिएका पौडेल पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । निगमको महाप्रबन्धक हुने भएपछि उनले केही दिनअघि बतास अर्गनाइजेसनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए।

पूर्वसचिव सुशील घिमिरे कार्यकारी अध्यक्षका रूपमा कार्यरत रहदै गर्दा पौडेललाई सरकारले असारमा निगम सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो। अब उनी अध्यक्षको भूमिकामा रहनेछन्।डिमप्रकाश पौडेल सञ्चालक समिति सदस्यको रुपमा रहिसकेको कारणले गर्दा पनि उनलाई निगमका बारेमा धेरै कुरा थाहा छ ।

पौडेलले आफ्ना भविष्यको कार्ययोजना तयार पारिसकेका छन, ती कार्ययोजना मध्य तीनवटा कामलाई प्राथमिकतामा राख्ने उनले बताए ।

कोरोना महामारीले हवाई उद्योगमा परेको मारबाट नेपाल एयरलाइन्सलाई जोगाउने कामलाई उनले पहिलो प्राथमिकतामा राखेका छन् । त्यसपछि आन्तरिक उडानमा नेपाल एयरलाइन्सको उपस्थिति बलियो बनाउने र जहाजहरु थप्ने उनको योजना छ । चिनियाँ जहाज विस्थापित गर्ने निर्णयसँगै आन्तरिक उडानमा नेपाल एयरलाइन्सलाई नयाँ जहाज आवश्यक पर्छ ।

पौडेल भन्छन्, ‘अन्तर्राष्ट्रिय उडानमा समेत थप जहाज आवश्यक रहेकाले त्यसलाई ध्यानमा राखेको छु ।’

उनको तेस्रो प्राथमिकता चाहिँ नेपाल एयरलाइन्स विभिन्न विभागमा रहेका विकृति, विसंगति हटाउने तथा संस्थागत सुदृढीकरणमा काम गर्ने रहेको छ ।

चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेपछि निगमले आन्तरिक उडानका चीनबाट ल्याइएका छ जहाजको उडान सेवा बन्द गर्ने निर्णय गरिसकोको छ । यसकारणले गर्दा निगममा भइरहेको घाटा केही हदसम्म कम हुने देखिन्छ ।  निगम सञ्चालक समितिको गत असार १६ गतेको बैठकले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै पौडललाई काम गर्न सहज हुने अनुमान लगाउन सकिन्छ ।

चिनियाँ जहाजका स्पेयर पार्ट्ससमेत समान क्षमताका अन्य जहाजभन्दा करिब ७५ प्रतिशत महङ्गो रहेको, स्टल रुटमा प्रस्तावित जहाजमा २५ प्रतिशतदेखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन रहेको, जहाजका पाइलटको खर्च समान जहाजको तुलनामा चार गुणा बढी हुन आएकाले निगमले वित्तीय भार बेहोर्दै आएको  थियो ।

कोभिड–१९ का कारण निगमको मूल आम्दानीको स्रोतका रूपमा रहेको ग्राउण्ड ह्याण्डलिङ सेवाबाट हुने आय करिब ९० प्रतिशतले घटेको र आन्तरिक उडान समेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई जोगाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गर्नुपरेको जनाइएको छ ।

आर्थिक अवस्था सुधार गरी नयाँ जहाज खरिदलगायतमा दरिलो उपस्थिति जनाउन निगम सञ्चालक समिति बैठकले अधिकृत पूँजी रु ५० अर्ब पु¥याउने निर्णय गरेको छ । ऋणात्मक अवस्थामा सामाजिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने बाध्यतामा रहेको निगमसँग अहिले करिब रु ३४ करोडमात्रै अधिकृत पूँजी छ ।

नेपाल वायुसेवा निगमले लिएको वाइडबडी जहाज किन्नको लागि नागरिक लगानी कोषबाट १२ अर्ब र संचयकोषबाट १२ अर्व लिएको ऋण तिर्न सकेको छैन सरकारले तिर्ने कि डुब्ने स्थितिमा रहेको छ । १५ वर्षभित्र तिरिसक्नेगरी लिइएको यो ऋणको १ अर्ब २६ करोड वर्षमा ब्याज तिर्नुपर्ने छ।

सुशिल घिमिरे पर्यटन सचिव हुदै लिएको ऋण तत्कालिन समयमा घिमिरे आफै निगमको कार्यकारी अध्यक्ष छन तर अहिले सम्म त्यो ऋण तिरिएको छैन ।

संस्थालाई भार कस्ले गर्दा भयो कुनै समय फाइदामा गएको निगम कसरी यस्तो दुराअवस्थामा गयो ? यी आम प्रश्नको जवाफ कस्ले दिने ?

तर थला बस्नुपूर्व आशाको एउटा किरण देखिएको छ । त्यो आशाको किरण हुन निगमको महाप्रबन्धक डिमप्रकाश पौडेल ।

हुन त हेर्न बाँकिनै छ उनमा कार्यसम्पादन र कार्यदक्षता कत्तिको छ भनेर । चिनियाँ जहाज बन्द गरिएपछि भएको सहजताका विच विविध समस्यालाई पहिल्याएर समाधान गर्ने सक्ने क्षमता यदि उनमा हुनेछ भने उनी दोस्रो कुलमान सावित हुनेछन र जनताको मनमुटुमा राज गर्नेछन । तर पौडेललाई यतिकै सहजता भने छैन विभिन्न चुनौति विच शक्तिको लडाईंको डर पनि उत्तिकै छ ।

शक्तिको लडाईंको डर

त्यसो त निगममा सुशील घिमिरे कार्यकारी रहेको अवस्थामा पौडेल महाप्रवन्धक भएर आएपछि शक्तिको लडाईं सुरु हुन सक्ने आँकलन पनि एकथरिले गरेका छन् । सरकारले ३ वैशाख २०७७ मा पर्यटन मन्त्रालयका पूर्वसचिव तथा नेपाल एयरलाइन्समा लामो समय सञ्चालक समिति अध्यक्षको रुपमा काम गरिसकेका घिमिरेलाई कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो । यसअनुसार उनले सञ्चालक समिति र व्यवस्थापन दुबैको नेतृत्व गर्न सक्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार घिमिरेको नियुक्ति पत्रमा ‘अर्को व्यवस्था नहुन्जेलका लागि’ भन्ने व्यहोरा उल्लेख गरेको छ । सोहीकारण अब उनले सञ्चालक समितिको अध्यक्षका रुपमा मात्र उनले काम गर्नेछन् । अर्थात् उनले अब नियमित कार्यालय आउनुपर्ने छैन । पौडेलले व्यवस्थापन र घिमिरेले सञ्चालक समितिको नेतृत्व गर्ने गरी निर्णय भएको हो ।

नेपाल एयरलाइन्समा सरकारी नेतृत्वले आफ्नो स्वार्थका व्यक्तिलाई उच्च नेतृत्वमा लैजाने प्रवृत्तिले पटकपटक शक्तिको लडाईं हुने गरेको छ । यसअघि तत्कालिन महाप्रवन्धक सुगतरत्न कंसाकारले काम गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा मन्त्रिपरिषद्बाट मदन खरेललाई कार्यकारी अध्यक्षको भूमिका दिइएको थियो ।

तर, कंसाकारले आफ्नो कार्यकाल बाँकी रहेको भन्दै पद छाडेनन् । यसले कार्यकारी भूमिकामै दुई जना रहँदा द्वन्द्व बढेको थियो । खरेलबाट समेत प्रधानमन्त्रीले चाहेजस्तो काम हुन सकेन । फलस्वरुपः उनले कार्यकाल पुरा नहुँदै राजिनामा गरे ।

हामीले पौडेललाई सोध्यौं अहिले पनि त्यस्तै अवस्थाको पुनरावृत्ति हुने त होइन ?

पौडलले जवाफ दिए, ‘अहिले कार्यभार स्पष्ट छ, म व्यवस्थापन सम्हाल्ने छु, उहाँले सञ्चालक समिति । कुनै द्वन्द्व हुँदैन ।’

हामीले कार्यकारी अध्यक्ष घिमिरेलाई समेत यही प्रश्न राख्यौं । उनी पनि असन्तुष्ट देखिएनन् । ‘द्वन्द्व किन हुनु, सबै सल्लाहमै भएको हो, यति बुझनुहोस, हामी एउटै टीममा छौं ।’

नेपाल एयरलाइन्सको सुधारका लागि नेतृत्वमा एक अनुभवी र बलियो टिम रहेको भन्दै दुबै जनाले अब सुधारका काममा तिब्रता ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया