अखबारपत्रः काठमाण्डौ,असोज २४। यो सुन्दर पृथ्वी ग्रह मानवहरूको मगजले सुन्दर त बन्यो तर मानव आफैं पनि पञ्चमहाभूतहरूका अवयवहरूले निर्मित प्राणी भएकै कारण आफ्नो महानतालाई अनेक द्वेष अनि विकारहरूबाट मुक्त पारेर यो समाजलाई सिगार्न सकेन।
सेतो कपडामा लागेको एउटा कालो दागझै हाम्रा मुहारका आभाहरूमा गोधूलि पछिका पश्चिमका क्षितिजहरू जस्ता देखिन थाले। मानव जातिको महानता, पूर्वीयहरूको गौरवमय सभ्यता, हिमाली संस्कृतिको भब्यता, बुद्धको शालिनता सबलाई चुनौती दिदै हाम्रा सामु आइपुगे,सयौँ बलात्कारका समाचारहरु। छि ! कति घिनलाग्दा घटना ! फेरि स्तब्ध हुनपुग्छु, पीडकको रोदनले सदैव पिरोलिरहन्छ।
यो भूमिमा मलाई यस्तो ठाउँ देखाइदिनुस्, जहाँ हाम्रा नारीहरू सुरक्षित हुन सकून्। दिनानुदिन अन्यायका भूमरीहरू पनि यसरी मडारिरहेका छन् की मानौँ, नेपाल बुद्धको भूमि नभएर बलात्कारी जन्माउने उर्बर भूमिको रूपमा प्रचलित छ।
नारीलाई पोथीको संज्ञा दिइने मेरो समाजमा, नारीको हकअधिकारका लागि उठेका आवाज यदाकदा ओझेलमा परेको पाइन्छ। सभ्य परिवार र मित्रताबाट सुन्दर भविष्यको परिकल्पनामा रम्ने नारीलाई अनयासै बग्रेठो बनाइन्छ।
यदि मालीलाई पनि ति फक्रिदै गरेका सुन्दर फूलहरूलाई त्यसरी नै लत्याइन्छ भन्ने थाहा भएको भए सायदै ति फूलहरूलाई चाहेर पनि रोपिन्न थियो होला । दोष अभिभावकको संस्कारमा हैन, प्रविधिको दुरुपयोगमा मग्नमस्त रहेर गलत नियत विजारोपण गर्नेको हो। यस्तै नियतका बुद्धिजीवी भनौदाको संस्कारले नै मृगौला तस्करी गर्ने दोस्रो पुस्ताको जन्म हुन्छ।
स्मरण रहोस्-पोर्नोग्राफीको सिद्धान्तमा बलात्कारको अभ्यास गर्ने प्रत्येक व्यक्ति बलात्कारी नै हो। हाम्रा नयनहरूले ठमेल अनि असनका चोक अनि गल्लीमा लागुऔषध र मादक पदार्थको सेवन गरी लठ्ठ परेका जमातहरूका दृश्य कैद गरिरहदा मानसिक रूपमा पटक पटक बालात्कृत हुदै बाचिरहेका पीडितको आवाजले बुझ्याइरहन्छ।
हामी व्यवहारमा भन्दा पनि विचारमा रम्ने महान जाति हौ। आज पनि नेपाली समाजमा ‘छोरा पाए खसी, छोरी पाए फर्सि’ भन्ने पुरानै परम्पराले जरा गाडेको छ। हाम्रो संस्कारले लागुऔषधको सेवन गरेर लठ्ठ परेका छोराको भव्य सम्मान गर्छ, यद्यपि छोटा लुगा लगाएर निस्किएका छोरीहरूलाई वेश्याका रूपमा हेरिन्छ।
सकिन्छ त नियत बदलौँ, हैन भने नारीको सौन्दर्यतालाई पनि सम्मान गर्न सिकौँ । नेपाली समाज सामन्तवादी स्वरूपबाट पुँजीवादमा रूपान्तरण भैरहँदा बलात्कारका घटनाहरु पनि त्यसरी नै बाक्लिदै छन्।
एक महिला राष्ट्रपति हुदैमा सम्पूर्ण महिलाको अधिकार सुनिश्चित हुन्छ भन्ने हुँदैन। यद्यपि सरकारको ध्यानाकर्षण होस्। २०००भन्दा बढी बलात्कारका घटनाहरु बाहिरिए पनि असङ्ख्य घटनाहरु त न्यायलयमा पुगेकै छैन। पुगे पनि न्यायाधीशको स्वविवेकमा अपराधीले कारावासको सजायबाट मुक्त भई उचित सम्मान दिइन्छ। बडो गज्जबको छ -कहानी पनि। नेपालको कानुन दैवले जानुन् जस्तै भएको छ।
कठै मेरो देश !! मृत्युदण्ड लागु गरिदा मानव अधिकारको हत्या हुन्छ भन्नेहरूलाई मेरो आग्रह-एक पटक यो वर्तमान समाजको धरातललाई नियालिदिनुस्। हिरारूपी नारीलाई हार बनाएर गला सझाऔं।अब बलात्कारीलाई आजीवन कारावासको सजाय वा मृत्युदण्डको व्यवस्था गरौँ। ताकि कोही अर्की नारी, निर्मला पन्त अनि सम्झना बि.क बन्नु नपरोस्।
समयले दोस्रो पटक धिकार्ने मौका नपाओस्। यो शिक्षित खप्परले पनि सधैं शब्दसिर्जना मार्फत पीडकको भावनालाई मात्र बुझ्ने प्रयत्न गर्छ, शोषित मनहरूलाई न्याय दिने सामथ्र्य कहिले राखेन, सायद यही मेरो कमजोरी हुन सक्छ।