अखबारपत्रः काठमाण्डौ,असोज २४। अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल लगायत विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीका लगाउने उत्तम साइतसार्वजनिक गरेको छ ।
समितिका सदस्य सचिव आचार्य सन्तोष वशिष्ठले अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएकोमा यो वर्ष झनै धेरै देशबाट यसको माग भएकोले माग बमोजिम २४ वटा देशमा टीका लगाउने साइत जुराइएको जानकारी दिए ।
समितिको बैठकले नेपालको काठमाडौंका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।
यसैगरी भारतको दिल्लीमा बिहान १०ः३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११ः०५, केन्टुकीमा बिहान ११ः०७, टेक्सासमा बिहान ११ः५७ र क्यालिफोर्नियामा ११ः४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्राडा. माधव भट्टराईले बताए ।
यसैगरी, बेलायतको लण्डनका लागि बिहान ११ः३९, क्यानडाको टोरन्टोका लागि बिहान ११ः४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११ः३७ र फ्रान्सको पेरिसका लागि बिहान ११ः४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी मनाइनेछ ।