अखबारपत्र :काठमाण्डौ,
असोज १९। २०७२ सालको महाभूकम्पले प्रताडित नेपाली नागरिकलाई अझ तराईका केही दल र पात्रहरुको आग्रहमा भारतले आर्थिक नाकाबन्दी गरेको बेलामा तत्कालिन ने.क.पा एमालेका अध्यक्ष खड्ग प्रसाद ओलीको भूमिका प्रशंसनीय थियो ।
त्यही विरासत स्वरुप ओलीले निर्वाचनमा अकल्पनीय बहुमत उपहारमा प्राप्त गरे भन्ने धारणा अझै पनि धेरैको दिमागले अस्वीकार गर्न मान्दैन ।
वस्तावमा उनी त्यसबेल खाँटी राष्ट्रवादको खोल ओढेका भनी आरोप लगाउनेहरुले न कसैले कसरी कम्युनिष्टहरुले यसरी बहुमत ल्याए भनेर नै खोतल खातल पार्न सके, न आफ्नो अकर्मण्यता प्रस्तुतनै गर्न सके ।
लाज पचाएर हामीले जनमत पाँच वर्ष राज्य संचालन गर्नको निम्ति प्राप्त भएन भन्दै कानमा तेल हालेर कालो टालोले आँखा छोपेर चानुमानु लगाएर बसेका छन् नेपाली राजनीतिका महाकुम्भकर्णहरु ।
अभिमतको चुरो
२०४६ साल पछि यो या त्यो तरिकाले नेपाली कांग्रेसले लामो समयावधिसम्म सत्ता आफ्नो पोल्टामा गुज्मुज्याएर राख्यो । भ्रष्ट्राचारमा, लामो अवधि लोडसेडिङमा,जम्बो मन्त्रीमण्डलमा, अस्थिर राजनितिमा, कलकारखाना डुबाउने काममा रेकर्ड ब्रेक गर्यो ।
सुडान घोटाला काण्डदेखि टीन काण्ड सम्म कुनै न कुनै तरिकाले नेपाली कांग्रेसले मुख मिठ्याएरै छाड्यो । नेपालमा भएका व्यक्तिगत र संस्थागत ठूला भ्रष्ट्राचारमा नेपाली कांग्रेसको संलग्नता छैन भनी छाडिदिने अवस्था छैन ।
भ्रष्ट्रचारको आहालमा चुर्लुम्म डुबेर आजित पारेका थिए नेपाल र नेपाली नागरिकलाई । आर्थिक नाकाबन्दीमा एक शब्द पनि विरोध स्वरुप आएन । भारतले बारम्बार नाकाबन्दी गर्दा एक शब्दपनि बोल्न सकेनन ।
भूकम्पको बेला आएका राहत जनतालाई बाढ्न छाडेर आफ्नो घरमा कैद गरेर राखे । यस सन्दर्भमा नेपाली नागरिकले ओली र देउवाबीच तुलना गरे र नराम्रोबाट कम नराम्रो छाने ।
अहिले पनि ओलीलाई गाली गरिरहने मान्छेले जब देउवाको कुरा चल्छ, ओलीलाई नै ठिक मान्छन देउवालाई भन्दा । यसकारण नेपाली कांग्रेसको भ्रष्ट्राचार प्रवृति र नेपाल र नेपाली प्रतिको उदासिनता तथा एमाले र माओवादीको एकता जस्ता कारणले ओली झण्डै दुई तिहाई बहुमत ल्याएर देशको प्रधानमन्त्री बने ।
खोक्रो र जर्जर पारिएको नेपाली अर्थ व्यवस्था उकास्न गरिएको प्रतिवद्धता र समृद्धिको लालसाले सूर्य छापले मत पेटिका भरियो ।
जनअपेक्षा
कुनै पनि सरकारसँग नागरिकले गर्ने अपेक्ष भनेको शान्ति र अमन चयन नै हो। नेपाली नागरिकले जादुमय शैलीमा राती सुतेर बिहान उठ्दा देश युरोप र अमेरिका जस्तो विकसित होस भनेर कल्पना गरेका थिएनन । न त रातारात रेल कुदोस, पानी जहाज गुडोस भनेरै कल्पना गरेका थिए ।
वर्तमान संविधान निर्माण भएपछि बनेको निर्वाचित सरकारले कम्तिमा भताभुङ्ग भएको देशको प्रणाली ठिक ठाँउमा ल्याओस समस्त तह तप्काको निम्ति संवैधानिक अधिकारको समुचित प्रयोग होस भन्ने चाहन्थे ।
घुसपान नगराई सरकारी अड्डाले सरल र सुलभ सेवा प्रदान गरुन, देशमै रोजगारीको सृजना होस, शिक्षा स्वास्थ्य निशुल्क होस र सरल होस, न्याय सुलभ तथा भेदभाव रहित होस, सडक तथा यातयातमा इज्जतपूर्वक हिडन गुड्न पाइयोस ।
वर्षे विकासको अन्त होस हरेक क्षेत्रका विचौलियाको अन्त होस, आम नेपाली नागरिक कोहि काखा कोहि पाखा नहुन देशको प्रचलित कानुनको परिधि भित्र रहि आफ्नो पेशा व्यवसाय निर्वाध संचालन गर्न पाइयोस ।
राज्यले गर्ने फजुल खर्चमा नियन्त्रण गरोस, कर प्रणाली वैज्ञानिक र स्तर अनुसारको होस । राज्यले सम्पूर्ण जातजाति लिंग धर्म वर्ण र संस्कृति मान्ने नागरिकलाई समान व्यवहार गरोस । यी र यस्तै त थिए नेपाली नागरिकका अपेक्षा ।
प्रधानमन्त्रीको अबीर दलेर सपथ लिइसकेपछि भावावेशको उन्मादले ढाक्यो हाम्रो प्रधानमन्त्रीलाई । करिब ६ महिना सम्म प्रतिपक्षलाई गाली गर्दै र झिनामसिना कार्यक्रमहरुमा रिवन काट्दै फुर्सद भएन । पाँच वर्षे योजना र परियोजना एकातिर राखेर आफ्नाहरुलाई नियुक्ति दिन र उखान टुक्का खोज्दैमा समय घर्कदै गयो ।
समस्याका चाङ जस्ताको तेस्तै रहे । न त एउटा आशालाग्दो र कर्मशिल मन्त्री मण्डलनै गठन गर्न सके,न मन्त्रालयहरुलाई सामन्यस्तामा ल्याउनै सके, बरु छाडा मनपरि तन्त्रलाई प्रश्रय दिए ।
गर्न खोज्नेलाई पनि ठाडै हस्तक्षेप गरेर लङ्गडो पारे, एसम्यानहरुलाई काखी च्यापे । प्रधानमन्त्रीले यहाँ निर ‘Action speak louder than words’ अर्थात शब्दले भन्दा कामले दर्शाउछ भन्ने तथ्यलाई चटक्कै विर्सिएर मनमा जे आउँछ फलाक्दै जानथाले ।
भ्रष्ट्राचारमा शुन्य सहनशीलता भन्दै खोक्ने प्र.मले हरेक भ्रष्ट्राचार र भ्रष्ट्राचारका पात्रलाई संरक्षणमा लिए । वाइडबडी तथा न्यारो बडी काण्ड, फोर जी काण्ड, छपाई मेसिन काण्ड, सुन काण्ड । कोरना काण्डबीच पीपीए काण्ड (मास्क खरीदमा मात्र ८ करोडको घोटाला छ) । मेलम्ची घोटला काण्ड, रेलवे ट्र्याक ठेक्का काण्ड, द्रुतमार्ग घोटला काण्ड, यति एयर लाइसेन्स जग्गा ठेक्का तथा विमान भाडा काण्ड ।
राष्ट्रपतिलाई गाडी, हेलिकप्टर र कार्पेट खरीदमा भ्रष्ट्रचार होस या बालुवाटार जग्गा प्रकरणमा आफ्ना बचाउ अभियानमा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता देखिन्छ । ती काण्डका नाइकेहरुको संरक्षण किन ? तेत्तीस किलो सुन काण्डमा एक छिन नाटक मञ्चन गरियो, सुन भने भारतमा समातियो यताका लगभग सबै पात्रहरुले विस्तारै ‘ल्किन चीट’ पाउदै गए । कति अवैध सुन नेपाल भित्रिन्छ भन्ने कुराको यो प्रतिनिधि उदाहरण मात्रै हो ।
नेपाल राष्ट्रमाथि कुष्ठाघात गर्ने अमेरिकि ‘प्रोजेक्ट’ MCC संसदमा पास गराउन मरिहत्ते गर्ने प्रमले देशको एउटा चेली बलात्कारित भएर हत्या हुँदा हत्यारा पत्ता लगाउन सिन्को भाच्ने काम समेत गर्न सकेनन् । छोराको हत्यारालाई कारबाही गरी पाउ भनी वर्षौसम्म विर अस्पतालमा अनसनरत महिला जसको पतिको लास अझै जलाइएको छैन, उनको समस्यातिर एक कर्के नजर समेत लगाउन सकेका छैनन । कोरोना कहरका समयमा कार्यनैतिक र रणनैतिक दृष्टिकोणले असफल रहेका प्रधानमन्त्री नागरिकको सुरक्षा योजनाको सट्टा आफ्नो कुर्सी सुरक्षामा बढी ध्यान केन्द्रित गरे ।
हजारौ नागरिक खान नपाएर भोकै टुडिखेलमा खाली थाल थापेर दाताको प्रतिक्षामा बसिरहदा नजिकै सैनिक मञ्चमा करोडौ खर्च गरेर हेलिकप्टरबाट फूल वर्षाउदै संविधान दिवस मनाए । एकपटक त्यतिधेरै खर्चगरेर संविधान नमनाउदा के विग्रिन्थ्यो र ?
संवैधानिक आयोगहरु नेतृत्व विहिन छन् । कार्य संचालन भैराखेको छैन शाखा अधिकृत र उपसचिव स्तरका कर्मचारीको कर्मकाण्ड मात्रै छ, नियुक्तिको कुनै सुरसार छैन । संवैधानिक परिधिभित्र रहेर सधैका लागि हुने व्यवस्थित मापदण्ड तोकेर असल पात्र नियुक्ति गर्दा के बिग्रिन्छ र ? हाम्रालाई रोज्दा न्यायलयको जस्तो अवस्था आउने छ ।
महावीर पुन, गोविन्द के.सी तथा कुलमान जस्ता पात्रलाई पाखा लगाएर भ्रष्ट पतित तथा नालायकहरु(केही)लाई तक्मा प्रदान गरेर जग हसाई गरेका प्रमजीले महावीर पुनको आविस्कार केन्द्रलाई सुको नदिएर झलनाथलाई सर्प पाल्न १३१ करोड उपलब्ध गराए ।राज्यतहबाट गर्ने काम किन व्यक्तिलाई ? मल नपाएर किसान पिडामा छन, समयमै समाधान छैन, सर्पलाई राशी । ‘हन्डिमा दाना छैन आँउ बुढा खाना खान’ ।
अन्तमा अपेक्षित आग्रह
सम्माननिय प्रधानमन्त्री ज्यू, समय र कालले पर्खिदैनन । अब तपाईसँग काम गर्ने समय केवल डेढ वर्षमात्र बाँकी छ । बाँकी अरु समय निर्वाचन जानेछ । यो समय फलदायी बनाउन आग्रह गर्दछु । कम बोल्नुस धेरै काम गर्नुस । भारतसँग तुरुन्त वार्ता गरेर १९५० को सन्धि पुनरावलोकन गर्नुस । लिम्पियाधुरा, लिपुलेक र कालापानीको समस्या समाधान गर्नुस । भारत मान्दैन भने प्रधानमन्त्री ज्यू चिन, रुस, र अमेरिका जस्ता राष्ट्रसँग सल्लाह गरेर अन्तराष्ट्रियकरण गरौ ।
नेपाल स्वतन्त्र राष्ट्र हो भारतसँग झुक्न जरुरी छैन । जाइलाग्न पो भएन । प्रधानमन्त्री ज्यू आफू प्रणाली भित्र रहेर यो देशको प्रणाली सुधार गर्न अग्रसर हुनुहोस इतिहासले गुन्ने छ । कालले तपाँइलाई साथ दिएको छ । वेथिति माथि हथौडा बजार्नुस । युगले स्मरण गर्ने छ । अन्यथा आगे तपाईको मर्जि ।
अस्तु
जे.एन. घिमिरे
काठमाण्डौ