भ्रष्ट्रचार : एक नियत




भ्रष्ट्रचार : एक नियत

अखबारपत्र : काठमाण्डौ असोज १०।  नेपाली वृहत शब्दकोशले भ्रष्टचारलाई यसरी प्रस्ट्याएको छ– नियम वा कानुन विरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम, पतित आचरण, दुषित मर्यादा ।
यहाँ के स्पष्ट छ भने भ्रष्टचार एक पतित र नैतिक पतन हुने कार्य हो । तर विश्व परिवेश र नेपालकै सन्दर्भमा हेर्दा यो कीरो अतिनै मौलाएको देखिन्छ । भ्रष्टचार अधिकार प्राप्त व्यक्ति वा संस्थाले गर्ने बेइमानी वा अपराधिक क्रियाकलाप हो, अधिकारको दुरुपयोग गरी अवैधानिक फाइदा लिनु हो ।
भ्रष्ट्रचार कुलीन तन्त्र (oligarchies), राजनैतिक रुपमा भ्रष्ट्र (Kleptocracy), अवैध ‘ड्रग’ व्यापारिक राज्य (Narco-state) र ‘माफिया’ द्धारा संचालित राज्यहरुमा अत्याधिक मात्रामा हुने गर्छ ।
नेपालको परिपेक्षमा हेर्ने हो भने यँहाको भ्रष्ट्रचार हाल २०४६ पछि ‘ल्केप्टोक्याटिक'(Kleptocratic) छ अर्थात राजनैतिक संरक्षणमा उचाई मापन गर्दै छ । ट्रान्सप्यारेन्सि इन्टरनेशनलको सूचांक हेर्ने हो भने विकसित राष्ट्रको तुलनामा अविकसित, अल्पविकसित र विकाशील राष्ट्रमा भ्रष्ट्रचार बढी मात्रामा भएको पाइन्छ ।

भ्रष्ट्रचारका प्रकारहरु :

१. राजनैतिक भ्रष्ट्रचार : भ्रष्टाचारको मूल जरोनै यँही हो । राजनैतिक भ्रष्ट्रचारको स्वरुप पनि फरक फरक हुन्छ जस्तै घुस लिने दिने, जवरजस्त चन्दा आदि  असुली गर्ने नातावाद कृपावाद राजनैतिक संंरक्षण गर्ने, अनावश्यक प्रभाव पार्ने, आर्थिक भ्रष्ट्रचार गर्ने, र परिच्छेदवाद (Parochialism)। व्यक्तिगत भ्रष्ट्रचार र संस्थागत भ्रष्ट्रचार पनि राजनैतिक भ्रष्ट्रचारका पाटाहरु हुन

नेपालमा २०४६ पछि, खासगरी २०६३ देखि २०७० सम्म व्यक्तिगत भ्रष्ट्रचार बढी थियो, भने २०७० यता भ्रष्ट्रचार संस्थागत हुन पुगेको छ । अहिले त झन उच्च विन्दुमै पुगिसकेको छ ।चुनावका बेला भोट किनबेच गर्नु, अवैध रुपमा राजनैतिक पार्टीलाई आर्थिक सहयोग गर्नु, चन्दा पुरस्कार, उपहार प्रदान गर्नु, झोला बोकेर घरको ढोका सम्म पुगी व्यक्तिगत फाइदा लिनु नजराना चढाउनु ।आर्थिक सहयोग प्रलोभनमा नियुक्ति, सरुवा र बढुवा गर्नु, कार्यलयको स्तरको अपव्यय गर्नु, राज्यलाईनै प्रलोभनमा पारी आफ्नै अधिनमा गर्नु । साथै राज्यको आन्तरिक सूचनाको व्यापार गर्नु,  दुई व्यक्ति वा समुह बीच कुनै रुचीको विषयमा द्धन्द उत्पन्न हुनु लगायतराजनैतिक भ्रष्ट्रचारका उदाहरण हुन ।

सूची अझै लामो हुन सक्छ, हामी कँहा राजनैतिक भ्रष्ट्रचार भित्र उग्ररुप धारण गरेको पाटो भने कमिशनले हो, ठेक्का पट्टामा कमिशन, खरीद बिक्रिमा कमिशन, आयोजना परियोजनामा कमिशन, छपाई आदिमा कमिशन ।  सरसर्ती केलाउने मात्र हो भने पनि नेपालको राज्य संयन्त्रले गर्ने भ्रष्ट्रचार अति डरलाग्दो छ ।

 २.नैतिक भ्रष्ट्रचार : सामान्यतया नियम, कानून, अनुशासन, संस्कार, संस्कृतिको विरुद्ध गएर गरिने कार्य नैतिक भ्रष्ट्रचार हो । कुनै कम्पनीले जनता ठगेर पैसा कमाउनु र त्यसले त्यसरी कमायो भन्दै उसको सामान चोरी गर्नु दुवै नैतिक भ्रष्ट्रचार हुन ।एउटा व्यक्ति जसले सारा समाजले खराब भनेको कार्यलाई ठिक भन्छ भने उ नैतिक भ्रष्ट्र हो । राज्यले नागरिकका कामका लागि प्रदान गरेका भौतिक साधन र श्रोतलाई दुरुपयोग गर्नु, श्रीमान, श्रीमति वा परिवारको फाइदाको निम्ति प्रयोग गर्नु । श्रोतको अनावश्यक प्रयोग गर्नु, राज्यलाई आर्थिक घाटा हुने, नागरिकलाई दुःख दिने खालका विचार र सल्लाह उच्च अधिकारीलाई दिनु पनि नैतिक भ्रष्ट्रचार हो ।

शोषण गर्नु, काम ढिला गर्नु, भोलिवाद, फाइल लुकाइदिनु, अनावश्यक कानुन तेर्साएर व्यक्तिलाई परिवन्धमा पार्नु, कसैको इज्जत, मान, प्रतिष्ठाको मर्दन गर्नु कालो बजारी गर्नु, हडताल गर्नु नागरिकलाई कामगरी खाने वातावरण निर्माण नगर्नु आदि नैतिक भ्रष्ट्रचार नै हो ।

३. सामाजिक भ्रष्ट्रचारः केरा हातमा लिएको बाँदरलाई अरु धेरै केरा दिन्छु त्यो हातमा भएको चाँही मलाई देउ भन्ने हो भने कुनै पनि हालतमा बाँदरलाई प्रभावमा पार्न सकिन्न । यो उदाहरण वर्तमान समाजको मुहार हो ।व्यवहार दृष्टिकोण र धारणाले पुरै समाजमा पार्ने नकरात्मक प्रभाव समाजिक भ्रष्टचार हो । कमिशन र घुसको लोभमा वर्षायममा गरिने विकास कार्य, बाटो खनेर हिलाम्मे पारेर वर्षौ सम्म छाडिदिने, आवश्यक समाचार प्रकाशन गरेर वा सूचना प्रवाह गरेर व्यक्तिलाई प्रभाव पार्नु प्रदुषण फैलाउनु समाजमा आफ्नो आर्थिक आडम्बर प्रदर्शन गर्नु ।

यो वा त्यो हिसाबले अरुलाई शोषण गर्नु, समाजका, राज्यका संरचनाहरु भत्काउनु, नोक्सान गर्नु, जलाउनु, डढेलो लगाउनु आदि सामाजिक भ्रष्ट्रचार हुन । भ्रष्ट्रचारका प्रकार धेरै हुन सक्छन ।

भ्रष्ट्रचारका तत्वहरु :

१. सार्वजनिक र निजी क्षेत्र  : भ्रष्ट्रचारका तत्वहरु भनेका सार्वजनिक र निजी दुवै हुन सक्छन । नेपालमा यी दुवै क्षेत्रबाट मनग्गे भ्रष्ट्रचार गरेको पाइन्छ ।

२.शक्तिको दुरुपयोग : शक्तिको दुरुपयोग भ्रष्ट्रचारको जरो हो । भनिन्छ सबैले बलेको आगो ताप्छन । शक्तिको वरिपरि झुम्मिन्छन त्यसैले शक्तिवालाले दुरुपयोग गरिरहेको हुन्छ ।

३. फाइदा  : जहाँ फाइदाको लागि तछाडमछाड हुन्छ , त्यहाँ भ्रष्ट्रचार हुन्छ ।

विश्व प्रसिद्ध भ्रष्ट्रचारीहरु:

विश्वका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई आरोप लागेको मध्य इन्डोनेसियाका ३१ वर्ष शासन गरेका, राष्ट्रपति ३५ विलियन डलर झ्वाम पारेका सुहार्तो एक नम्बर पर्दछन । २१ वर्ष राज्य आफ्नो हातमा राखेका फिलिपिन्सका राष्ट्रपति मार्कोस दश विलियन डलर खाएर दोस्रो स्थानमा छन ।  ३२ वर्षसम्म कंगोका राष्ट्रपति भएका मोवुतु सेसे को पाँच विलियन डलर अपचलन गरेर तेस्रो स्थानमा छन ।त्यस्तै नाइजेरियाका पूर्व राष्ट्रपति सानी आवाचाले त पाँच वर्षमै पाँच विलियन डलर उडासकेका थिए ।अन्य भ्रष्टचारीमा जिने अल अविदिने ट्युनेसिया, स्लोबोदान मिलोसेभिक सिवेरिया, जीन क्लाउडे हैरी अल्बर्टो फुजिमारी( पेरु, पाम्लो लाजारेन्को युक्रेसियन, अरनाल्डो आलेमान निकारागुवा, र भारतका प्र.म पि.भि नरसिंह राव पर्दछन । दश अति भष्ट्र राष्ट्रहरुमा कोलोम्विया, मेक्सिको, घाना, म्यानमार, ग्वाटेमाला, साउदी अरेविया, ब्राजिल, केन्या, बोलिभिया र रसिया छन भने फिलिपिन्स, जाम्बिया, एल साल्भाडोर, कजाक्स्थानसँगै ३४ अंकभार प्राप्त गरेर नेपाल ११३ औ भ्रष्ट्रचारी राष्ट्रमा दर्ज भएको छ ।

नेपालमा भ्रष्ट्रचार

आज यही नेपालमा विकासको तगारो कोही छ भने भ्रष्ट्रचार र भ्रष्ट्रचारी हुन। यी देशद्रोही हुन यसमा कुनै दुईमत छैन । राणाहरुले अस्थिपञ्जर पारेको देश २००७ साल देखि २०१७ साल सम्म राजनैतिक खिचातानीमै रह्यो । २०१७ सालदेखि २०२८ सालसम्म केहि पूर्वाधार निर्माण योजना तर्जुमा र खाका कोर्नमै रम्यो । तत्पश्चात फेरी खिचातानीमै रहदा पंञ्चायत पक्षधरहरु राजाको गायत्री मंत्र जप्दै देशलाई खोक्रो पार्ने गरी लुटे । केही भ्रष्ट्रचारीलाई राजा विरेन्द्रद्धारा कार्वाही त गरियो तर पर्याप्त थिएन ।२०४६ सालपछि त टेबुलमाथिबाटै घुस खान थालियो । डर त्रास हरायो । प्रजात्रान्त्रिक भनाउँदा पार्टी कांग्रेसले  त झन व्यक्तिगत भ्रष्ट्रचारलाई हराभरा पार्दै गयो ।टायरका चप्पल पड्काउदै हिड्ने कम्यूनिष्टहरु चार पाँच वर्षमै  आलिसान महलका मालिक बने, राजसीठाँटबाँट शुरु भयो ।

व्यक्तिगत भ्रष्ट्रचार हुँदासम्म लोकलाई देखाउन चारपाँच जना काँग्रेसी नेता कार्वाहीमा परे तर कम्युनिष्टका अझै जीब्रो फट्कार्दै हिडेका छन । माओवादी द्धन्दकालमा स्थानीय स्तरमा भ्रष्टचार लगभग हराइसकेको थियो तर १२ बुदे सम्झौता पछि विस्तारै हराभरा हुँदै अहिले दुबो मौलाएझै मौलाएको छ ।

कांग्रेसको पालामा व्यक्तिगत रुपमा हुँदै गरेको भ्रष्ट्रचार कम्यूनिष्टको कार्यकालमा संस्थागत हुन पुगेको छ । सानो तहको कर्मचारी देखि सचिवसम्म, झोलेदेखि नेतासम्म राज्यमन्त्री देखि मन्त्री सम्म सबै भ्रष्टचारको रक्षानमा डुबुल्की मारेका छन । स्थानिय प्रदेश देखि केन्द्रसम्म भ्रष्ट्रचारले मात्र डेरा जमाएको छ । बोल्छन एक गर्छन अनेक ।

न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकालाई नजर अन्दाज गर्छ, कार्यपालिका र व्यवस्थापिका लाई नजर अन्दाज गर्छ, कार्यपलिका र व्यवस्थापिकाले न्यायपालिकालाई संरक्षण । गजबको मिलभगत छ । हाम्राले ठाँउ पाउँछन राम्रो फ्याकिन्छन । दक्षता र क्षमताको भन्दा आर्थिक विटाको कदर गरिन्छ ।साना माछा कहिले काँही समान्छिन, ठुलामाछा अट्हास गर्दै अरब गाँठो पार्दै समाजवादको नारा फलाक्छन । अधिकांस नागरिकहरु तिनै भ्रष्ट्रचारीको पछि लागेर वैतर्णी तर्ने आश गरेका छन । विरोध गर्नेहरु पानीको फोहोरा अश्रुग्यास र लाठी खान्छन ।नेपालमा भ्रष्ट्रचार र भ्रष्ट्रचारी माथि राज्यले निर्मम प्रहार गर्छ भनी मान्न सकिदैन ।

अदालत, संचारकर्मी र प्रहरीले कसम खाएर भ्रष्ट्रचार निवारणमा उत्रिए भने निदान सम्भव छ तर त्यसो होला भनेर मान्न सक्ने वातावरण छैन । अब जे गर्ने हो नागरिकको तप्काबाटै हुन जरुरी छ ।

त्यसको निम्ति केही कार्य गर्न आवश्यक छ ।

१.व्यक्तिगत र संस्थागत रुपमा सूचनाको हकको व्यापक प्रयोग गर्ने ।

२.भ्रष्ट्रचारीको भण्डाफोर र सामाजिक बहिस्कार गर्ने

.प्रमाण सहित लेख,रचना, प्रकाशन गर्ने

४.स्थानीय, प्रदेश तथा केन्द्रमा समुह निर्माण गरी सार्वजनिक कार्यमा निगरानी बढाउने जनदवाब दिने हिसाब किताब माग्ने ।५.अन्तिम विकल्प त आम नागरिक एकताका साथ भ्रष्ट्र प्रणाली परिवर्तनको निम्ति नागरिक सडक सत्याग्रह नै हो ।

अन्तमा प्रत्यक्ष अप्रत्यक्ष र परोपक्षरुपमा नेपालमा भ्रष्ट्रचार उकालीदै छ । केही पात्रहरु बाहेक विश्वास योग्य पात्र खोज्न मुस्किल छ । गन्हाएका र डुबेका पात्रहरुले शासन गरिरहेका छन ।राजनैतिक दलहरु यति भ्रष्ट्र छन कि अब सत्मार्गमा फर्किएलान आशा राख्ने स्थान हराई सकेको छ । अब जे गर्ने हो नागरिक स्तरबाटै गरिनुपर्ने छ । प्रणाली परिवर्तनको निम्ति नागरिक आन्दोलन अपरिहार्य ।

जे.एन. घिमिरे, काठमाण्डौ


प्रतिक्रिया