मोडेल निशा घिमिरेको उपचार नर्भिक अस्पतालले गरिदिने




मोडेल निशा घिमिरेको उपचार नर्भिक अस्पतालले गरिदिने

दुर्घटनाबाट गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक अस्पतालले नि:शुल्क उपचार गरिदिने भएकाे छ ।

२०७५ सालमा भारतको देहरादुनमा मोडलिंगमा डिप्लोमा अध्ययन गर्न गएकी निशा देहारादुनमै सडक दुर्घटनामा परेकी थिईन। अहिले अस्पतालकी निर्देशक मेघा चाैधरीकाे पहलमा भैसेपाटीस्थित घिमिरेकाे घरबाट उद्धार गरी निशालाई बिहीबार दिउँसाे अस्पताल भर्ना गरिएकाे थियाे ।

निर्देशक चौधरीले निशाको उपचारमा कुनै खर्च नलाग्ने बताएकी छन् । ‘निशाजीको अहिले फोटो देखेपछि पक्कै केयर नपुगेर नै यस्तो भएको हो कि भन्ने लाग्यो । नत्र यति लामा समयसम्म बाँच्ने स्थितिमा थिएन भने त उहाँ बाँच्नु हुन्न थियो होला । अनि केयर नपुगेर होला भन्ने लागेपछि हस्पिटल लिएर आउनुहोस् । हामी राखेर उपचार गर्छौ भनेर एम्बुलेन्स पठाएपछि उहाँहरुले ल्याउनुभयो’, उनले भनिन् ।

मेघाले आफूले नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालको माध्यमबाट निशाको अवस्थाबारे जानकारी पाएको खुलाइन् ।

‘दुर्गा दाईको पोस्ट देखेपछि उहाँलाई के हो यस्तो भनेर सोधें । निशाजी म्यूजिक भिडियो, फिल्ममा काम गर्नुहुन्छ भन्ने थाहा थिएन । मैले फोटोमात्र देखेकी थिएँ । त्यसपछि उहाँले मलाई जानकारी गराउनुभयो । दुर्घटना भएपछि ट्रमा सेन्टरमा राखेर उपचार गर्दाको अन्तरवार्ताको लिंक पठाउनुभयो । अनिमात्र मैले निशाजीको बारेमा विस्तृत बुझ्न पाएँ’, मेघाले भनिन् ।

मेघाका अनुसार डाइडिसियनलाई, न्यूरो सर्जनसँग कन्सल्ट गरेर निशाको उपचार भइरहेको छ । मेघाले आफ्ना साथीभाईसँगै दुर्गानाथसँग सहकार्य गरेर आर्थिक रुपले उपचार गर्न नसक्नेहरुलाई आफ्नै पहलमा उपचार गराइरहेकी छन् ।

हातखुट्टा नै कुँजिएर ओछ्यान परेको ३ वर्षपछि नर्भिकले उद्दार गरेकोमा छिमेकी र उनका अभिभावकसमेत खुशी छन् ।

‘यो कलियुगमा पनि भगवान हुँदा रहेछन् । मेरी छोरीलाई उद्धार गर्नेको भलो होस्,’ निशाका बुबाले भने- ‘छोरी जिउँदो लाश भएर लडेकी ३ वर्ष भयो । अब चाहिँ थोरै भए पनि उठ्छे कि भन्ने आशा पलाएर आएको छ ।’

निशाले नेपाली र मैथिली भाषामा बनेको फिल्म ‘मधेसीपुत्र २’ मा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । उनले ‘डियर जिन्दगी’ टेलिश्रंखला, झण्डै तीन दर्जन म्यूजिक भिडियोमा अभिनय गरेकी छन् ।


प्रतिक्रिया