५ अर्बको लागतमा इन्धन भण्डारण गृह तथा डिपो बढाउँदै निगम




५ अर्बको लागतमा इन्धन भण्डारण गृह तथा डिपो बढाउँदै निगम

काठमाडौं । नेपाल आयल निगमले तीन ठाउँमा पेट्रोलियम भण्डारण गृह र बबरमहल केन्द्रीय कार्यालय रहेको स्थानमा १० तले भवन निर्माण गर्ने भएको छ । निगमले कम्तीमा एक महिनालाई पर्याप्त इन्धन पुग्ने गरी चितवन, झापा र नेपालगञ्जमा  पेट्रोलियम पदार्थको भण्डारण गृह निमार्ण गर्न लागेको हो । निगम केन्द्रीय भवन निर्माणको लागि नक्सा पास भइसकेको छ ।

साथै, निगमले झापामा ग्यास बोटलिङ प्लान्ट पनि निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । सर्लाही भण्डार गृह निर्माणका लागि भने छलफल भइरहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमका अनुसार सर्लाहीमा एलपी ग्यास, झापामा पेट्रोलियम पदार्थ र एलपी ग्यास, चितवनमा पेट्रोलियम पदार्थको भण्डारण गृह बनाइने छ । त्यसका लागि जग्गा निगमले पहिल्यै लिइसकेको छ, निगमकै जग्गामा बनाउने हो ।

नेपालगञ्जमा जग्गा थप गरेर नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको हो । साथै भैरहवा र पोखरामा हवाइ इन्धन एयरपोटमा आधुनिक डिपो निर्माण कार्य पनि अघि बढाउने भएको छ । सरकारी प्रक्रिया सकिएपछि हामी भण्डार गृह र केन्द्रीय कार्यालय निर्माण कार्यमा जुट्ने छौं,’ उनले भने ‘यहि आवमै काम प्रारम्भ हुनेछ ।’

चितवनमा अमलेखगञ्जबाट पाइप लाइनमा आएको पेट्रोलियम इन्धन भण्डारको लागि चितवनमा १ लाख किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । नेपालगञ्जमा बन्ने भण्डार क्षमता गृहको क्षमता तयार भइसकेको छैन ।
डिपो सुधार तथा आधुनिक डिपो बनाउने समेत परियोजना अघि सारेको छ । नियमले ‘इन्टरप्रेनर रिसोर्स प्लानिङ’ अन्तर्गत यो परियोजना अघि बढाएको छ ।

पेट्रोलियम भण्डारण गृह, बोडिङ प्लान्ट तथा स्वचालित डिपो निर्माणको लागि निगमले ५ अर्बभन्दा बढी खर्च लाग्ने बताएको छ ।अहिले सो स्थानमा भण्डार गुह निर्माण गर्न विस्तृत अध्ययन भइरहेको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भएपछि निर्माण कार्य शुरु गर्ने निगमको तयारी छ ।

हाल नेपालमा पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनलाई पुग्ने भण्डारण क्षमता छ । त्यसलाई वृद्धि गरी पहिलो चरणमा कम्तीमा एक महिनालाई पुग्ने भण्डारण क्षमता बढाउन लागिएको हो ।

निगमले वार्षिक नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको भण्डारणलाई उच्च प्राथमिकतामा राखेको छ । निगमले केही समयपछि सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ ।

निगमका अनुसार नेपालगञ्जमा रहेको निगमको जग्गामा पेट्रोल पम्प तथा झापा र धनुषामा रहेको जग्गामा ग्यास बोटलिङ प्लान्ट निर्माण कार्य यसै वर्ष सुरु गरिने छ । देशका अन्य स्थानमा पेट्रोल पम्प तथा ग्यास बोटलिङ प्लान्ट निर्माण तथा सञ्चालन गर्न जग्गा व्यवस्थापनलगायतका आवश्यक प्रक्रिया सुरु गरिने भएको छ ।

चन्द्रगढी, जनकपुर र दाङको विमानस्थलमा हवाई इन्धन व्यवस्थापनका लागि पूर्वाधार तयार गरिने छ । हाल सञ्चालनमा रहेका इन्धन डिपो तथा हवाई इन्धन डिपोहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भए÷नभएको यकिन गरी पुनः संरचना गरिने भएको छ । प्राविधिक अवस्थाको यकिन गर्ने र सुरक्षा तथा वातावरणीय प्रभाव मूल्यांकन गरी निर्माण कार्य अघि बढाइने छ ।

source : aarthiknews


प्रतिक्रिया