अखबारपत्र :काठमाडौं, मंसिर १२।चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा मंसिर १७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन गर्ने भएको छ।
काठमाडौं जिल्लाको चन्द्रगिरि नगरपालिका र मकवानपुर जिल्लाको थाहा नगरपालिकाका आयोजना प्रभावित स्थानीयलाई ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। स्थानीयका लागि आईपीओ मुद्दा मंसिर १७ – पौष १ बाट खुला हुनेछ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउने छन्।
कम्पनीले जारी गर्न लागेको उक्त आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिने सो समयमा आईपीओ बिक्री नभएमा ढिलोमा पुस१६ गतेसम्म आईपीओ बिक्री हुने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावितका लागि निष्कासन गर्न लागेको हो।
अब कम्पनी दोस्रो चरणमा बाँकी १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ।
दुवै चरणको धितोपत्र निष्कासनपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५३ करोड बढी हुनेछ। जसमा ८८ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको हुनेछ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।