अखबारपत्र:काठमाडौं, फागुन १६। नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा केही सुधार आएको नर्भिक अस्पतालले जनाएको छ।
शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको आईसीयूूको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । शनिबारको तुलनामा उनको स्वास्थ्य अवस्थामा निकै सुधार देखिएको उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिए ।
बिहान बेहोस् पार्ने औषधी हटाएर हेर्दा जोशीले दाहिने हात र खुट्टा चलाएको झाले बताए।
झाका अनुसार शनिबारभन्दा आइतबार नेता जोशीले दाहिने हात र खुट्टा बढी चलाउन थालेका तर, पनि जोशीका आँखा भने खुलेका छैनन् ।
यस्तै, आइतबार जोशीको सिटी स्क्यान पनि गरिएको छ । जसअनुसार उनको टाउकोमा जमेको रगत र रक्तमिश्रित पानी समेत लगभग सफा भएको पाइएको छ ।
‘उहाँको अवस्था अझै खतरामुक्त भने छैन,’ डा. झाले भन्नुभयो–‘उहाँको अहिलेको अवस्थालाई जटिल, तर सुधारोन्मुख भन्नुपर्छ ।’