मन्त्री चयनका लागि देउवा परामर्शमा,आन्तरिक छलफलमा दलहरू




सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन्  भने विपक्षी गठबन्धनमा रहेका दलहरूले आन्तरिक छलफललाई तीव्रता दिएका छन्।

देउवा नेतृत्वको सरकारमा सहभागी हुने/नहुने, भए क-कसलाई मन्त्री बनाउनेबारे उनीहरूको छलफल केन्द्रीत छ।

राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चको परमादेशअनुसार आज साँझ ५ बजेसम्म देउवा प्रधानमन्त्री नियुक्त हुनेछन्। उनको सपथको भने टुंगो भइसकेको छैन।

सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बसेको थियो। नेकपा एमालेका नेता माधवकुमार नेपालको आयोजनामा कोटेश्वरमा बसेको उक्त बैठकमा नेता नेपालले आफूहरू अब विपक्षी गठबन्धनमा रहिरहन नसक्ने जानकारी गराएका थिए।

उक्त बैठकले तत्कालका लागि सानो मन्त्रिपरिषद बनाउने पनि निर्णय गरेको थियो। साथै मन्त्रीहरूको नाम दिन पनि देउवाले आग्रह गरेका थिए।

अब बन्ने देउवा सरकारमा प्रतिनिधि सभामा एक सांसद रहेको राष्ट्रिय जनमोर्चा भने नजाने भएको छ। सांसदसमेत रहेकी जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पार्टी तत्काल सरकारमा जान पक्षमा नरहेको बताइन्।

‘सरकारमा जानेबारे अहिलेसम्म पार्टीको निर्णय भएको छैन। सरकारमा जाने आवश्यकता देख्यो भने मात्रै जाने हो अहिले जाने पक्षमा छैनौं,’ उनले भनिन्, ‘हामी दुई/तीन दिनमा यसबारे निर्णय गरेर धारणा सार्वजनिक गर्छौं, मेरो बुझाइमा सरकारमा गइँदैन होला।’

यस्तै सरकारमा अहिले नै जाने/नजाने भन्नेबारे बैठकपछि निर्णय हुने जसपा नेताहरू बताउँछन्।

‘सरकारमा जानेबारे के गर्ने भन्ने निर्णय बैठकले गर्छ। आज दिउँसो १ बजे केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाइएको छ,’ जसपा नेता रामसहायप्रसाद यादवले भने।

जसपा र जनमोर्चा सरकारमा अहिले नगए कांग्रेस र नेकपा माओवादी केन्द्र मात्रै सरकारमा जाने सम्भावना देखिएको छ। कांग्रेसले अर्थ मन्त्रालय आफूलाई राखेर गृह माओवादीलाई दिने तयारी गरेको छ।

माओवादीले आज बिहान स्थायी कमिटी बैठक राखेको छ। सरकारमा मन्त्रीहरू पठाउनेबारे छलफल हुने बताइएको छ। नेता पम्फा भुसालका अनुसार माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ।

सरकारको नेतृत्व गर्न लागेको कांग्रेसले पनि आज दिउँसो २ बजेका लागि पदाधिकारी बैठक राखेको छ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र महाधिवेशन तयारीबारे छलफल गर्न बैठक राखिएको छ। उक्त बैठकमा सरकारमा क-कसलाई मन्त्री बनाउने भन्नेबारे पनि छलफल हुनेछ।

विपक्षी गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू अब विपक्षी गठबन्धनमा नरहने बताइसकेका छन्।

सोमबार बसेको विपक्षी गठबन्धनको बैठकमा नेपालले एमाले एकतातर्फ गएको बताएका थिए।

एमालेको पनि स्थायी कमिटी बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा  दिउँसो १ बजे बैठक बोलाइएको छ। बैठकमा सहभागी हुने/नहुनेबारे नेपाल समूहले आन्तरिक छलफल गरिरहेको छ।


प्रतिक्रिया