पेनाल्टी ‘मिस’ गर्दा स्पेन लगातार दोस्रो खेलमा बराबरीमा रोकियो




युरो २०२० मा स्पेन लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको छ।

आइतबार विहान सम्पन्न खेलमा स्पेनलाई पोल्यान्डले १-१ गोलको बराबरीमा रोकेको हो। अघिल्लो खेलमा स्पेनलाई स्विडेनले गोलरहित बराबरीमा रोकेको थियो।

खेलको २५ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए। उनले मोरेनोको पासमा गोल गरेका थिए। ५४ मिनेटमा पोल्यान्डले बराबरी गोल गर्न सफल भयो। पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए। ५८ मिनेटमा स्पेनले पेनाल्टी पायो। मोरेनोमाथि फल भएपछि पेनाल्टी दिइएको थियो। तर उनको प्रहार पोस्टमा लागेको थियो।

त्यसपछि मोराटाले गोल गर्न अवसर खेर फाले भने फेरान टोरेशको हेड पनि सफल हुन सकेन।

दोस्रो बराबरीसँगै स्पेनलाई अन्तिम १६ मा पुग्न गाह्रो हुने देखिएको छ। अन्तिम खेलमा स्लोभाकियालाई हराए मात्र स्पेनको अन्तिम १६ को सम्भावना हुनेछ।

खेलसँगै समूह ‘ई’ मा स्पेन दुई अंक जोडेर तेस्रो स्थानमा छ। शीर्ष स्थानको स्विडेनको चार अंक छ। स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा छ भने चौथो स्थानको पोल्यान्डले एक अंक जोड्न सफल भएको छ।


प्रतिक्रिया