धितोपत्र बोर्डको निष्कर्ष : ५१ कम्पनीको सेयरमा अस्वभाविक चलखेल




NEPALSTOCKEXCHANGE

नेपाल धितोपत्र बोर्डले केही कम्पनीले शेयर बजारमा चलखेल गरेको पुष्टि गरेको छ ।  बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा सेयर मूल्य चलेखेल गरेर मूल्य बढाएको निष्कर्ष निकालेको हो ।

केही कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा बढेपछि बोर्डले कमिटी नै बनाएर अध्ययन गरेको थियो । सेयर बजारमा ठूला र बाठा लगानीकर्ताहरुले चलखेल गरेर सेयर मूल्य बढाउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।

बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाएको देखिएको छ ।
‘सेयर मूल्य बढ्नु पर्ने केही आधारभूत पक्षहरु हुन्छन्, केही कम्पनीहरुको सेयर मूल्य बढ्नु पर्ने खास कारण नभए पनि बढाइएको पाइएको छ’ प्रतिवेदनमा भनिएको छ ।

बोर्डले १ वर्षमा सेयर मूल्य ३०० प्रतिशतभन्दा बढीले वृद्धि भएका, पीई रेसियो १०० भन्दा बढी भएका, प्रतिसेयर आम्दानी नेगेटिभ भएका र प्रतिसेयर नेटवर्थ १००  भन्दा कम भएका र कम्पनीको वर्तमान वित्तिय क्षमताको मूल्यांकन गरेर उक्त सूची सार्वजनिक गरेको बोर्डले जनाएको छ । साथै, धितोपत्र बजार बढेसँगै जोखिम पनि बढिरहेकाले सचेत हुन लगानीकर्तालाई सुझाएको छ।


प्रतिक्रिया