रामेछापको खनियापानीमा खानेपानी आयोजना अलपत्र




रामेछापको सुनापती गाउँपालिका–५ को खनियापानीमा रहेको खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्ने गरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेको हो ।

आयोजना पूरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानीय श्रमदानबाट शुरु गरिएको आयोजना चार वर्षदेखि अलपत्र छ ।

करिब ७० लाख लागतमा निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको लामो समयसम्म पनि सकिएको छैन । स्थानीयले आयोजनाका पदाधिकारीले आर्थिक अनियमितता गरेर खानेपानी वितरणमा आनकानी गरेको आरोप लगाएका छन् ।

‘भौतिक निर्माणको काम करिब अन्तिम चरणमा छ’ स्थानीय प्रमोद भण्डारीले भने, ‘अध्यक्षलाई हामीले आयोजनाको हिसाब मागेका छौं, उहाँले सार्वजनिक सुनुवाइमार्फत हिसाब देखाउन आनाकानी गर्नुभयो ।

स्थानीय निकाय र सामुदायिक विकास समाजबीच दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७४ मा आयोजनाको सम्झौता भएको थियो । यसअघिका सुरेस रोकाको अध्यक्षतामा रहेको उपभोक्ता समितिमा पछि नेतृत्व परिवर्तन भएको थियो ।

आयोजनामा अनियमितता भएको भनेर गाउँपालिका कार्यालयमा पनि उजुरी पनि परेको छ । आयोजनामा काम गर्ने प्राविधिकले पनि ज्याला पाएका छैनन् । आयोजना सम्पन्न गर्न उपभोक्ताबाट रकम उठाइएको थियो । तेस्रो पटक गाउँपालिकाबाट निकाशा गरिएको १० लाख रुपैयाँको हिसाब पनि स्पष्ट नभएको स्थानीयको आरोप छ ।

आयोजनाका अध्यक्ष भोलाराज रोकाले खानेपानी आयोजना पूरा गर्न आफू तयार भएपनि उपभोक्ताले असहयोग गरेको दाबी गरे । उनले भने, ‘पानी खोल्न खोलामा जानुपर्छ, मासिक २० हजार दिन्छु भन्दापनि खोल्न जाने मान्छे तयार नभएपछि म आफैं गएर सयम–समयमा धारामा पानी खसालेको छु ।’

सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले उपभोक्ताको भेला गरेर सार्वजनिक सुनुवाइमार्फत हिसाब माग्न स्थानियलाई आग्रह गरेका छन् ।

लामाले भने, ‘भेलामार्फत हिसाब माग्न भनेको छु, आयोजनाका अध्यक्ष पारदर्शी नभएको भेटिए छानबिन गर्छौं, कानुन अनुसार कारबाही हुन्छ ।’


प्रतिक्रिया