फरार ओलम्पिक बिजेता सुशील कुमार पक्राउ




दिल्ली प्रहरीको विशेष दलले ओलम्पिक बिजेता पहलवान सुशील कुमारलाई पक्राउ गरेको छ ।

दुई पटक ओलम्पिक पदक जितेका सुशील कुमार पहलवान सागर राणाको हत्याको मामिलामा फरार थिए । प्रहरीका अनुसार उनलाई दिल्लीको मुन्डकाबाट पक्राउ गरिएको छ ।

भारतका लागि दुई पटक ओलम्पिक पदक जितिसकेका पूर्व विश्व च्याम्पियन पहलवान सुशील कुमार पछिल्लो समय फरार थिए । उनको गिरफ्तारीमा एक लाख भारु इनाम राखिएको थियो ।

सुशील कुमारमाथि पहलवान सागर राणा हत्याकाण्डमा अपहरण, हत्यालगायतका विभिन्न धारामा एफआइआर दर्ता छ ।

३८ वर्षका पहलवान सुशील कुमारबाहेक प्रहरीले ४८ वर्षका अजयलाई पनि पक्राउ गरेको छ । सुशील कुमारमाथि एक लाख भारुको इनाम थियो र अजयमाथि ५० हजारको थियो ।

के हो मामिला ?

प्रहरीका अनुसार ४ मे अबेर रात दिल्लीको मोडल टाउन थानाको इलाकामा सुशील र उनका साथीले एउटा फ्ल्याटबाट सुरुमा सागर र उनका साथीहरुलाई हतियारको बलमा अपहरण गरे । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार त्यसपछि छत्रसाल स्टेडियममा लगेर उनलाई कुटपिट गरे । मिडिया रिपोर्टका अनुसार प्रहरी स्टेडियमको एउटा सीसीटीभी फुटेज पनि हात लागेको छ । यसमा सुशीलले हकी स्टीकले सागर र उनका साथीहरुलाई कुटिरहेको देख्न सकिन्छ ।

प्रहरीका अनुसार छत्रसाल स्टेडियमको पार्किङ एरियामा पहलवानका दुई गुटमा झडपको क्रममा फायरिङ पनि भयो । यसमा पाँच पहलवान घाइते भए । यसमा सागर (२३), सोनू (३७), अमित कुमार (२७) र अन्य दुई पहलवान समावेश थिए ।

सागरमाथि घर खाली गर्न दबाब दिइरहेका थिए सुशीलः

सागरको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । उनी दिल्ली पुलिसमा हेड कन्स्टेबलका छोरा थिए । यो झगडा सम्पत्ति विवादको विषयमा भएको बताइन्छ । सागर र उनका साथीहरु जुन घरमा बस्थे, सुशील त्यो खाली पार्न दबाब दिइरहन्थे । साथै सागरले त्यो घरको भाडा पनि दिइरहेका थिएनन् ।

यस्तै, द प्रिन्टले ७ मेमा एउटा रिपोर्ट प्रकाशित गरेको थियो । यसमा उनले प्रहरीको अनुसन्धानमा सागरले सुशीललाई खुल्ला रुपमा बदमास भनेको बताइएको छ । सुशील यसकारण सागरसँग रिसाएका थिए किनभने उनलाई लागिरहेको थियो कि सागरले उनको छवि खराब पारिरहेका छन् । त्यसैले उनी सागरलाई पाठ पढाउन चाहन्थे ।

एजेन्सी

 


प्रतिक्रिया