थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण, उपत्यकामा मात्र २ हजार ८२१ संक्रमित थपिए




पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्य काठमाडौं उपत्यकामा मात्र २ हजार ८२१ संक्रमित थपिएका छन् ।

यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट परीक्षण भएको छ भने ९३१ नमुना एन्टिजेन विधिबाट भएको छ । जसमा ७ हजार ५९८ जनाको पीसीआर विधि र एन्टिजेन विधिबाट ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा ७ हजार ३४९ जना र होम आइसोलेशनमा १ लाख ८ हजार १९८ जना रहेका छन् ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको जनाएको छ । यस्तै देशभर ७ हजार ६६४ जना निको भएका छन् ।


प्रतिक्रिया