सामाजिक संजालमा पोस्टिएका स्वास्थ्यकर्मी कुटपिटका तस्बिरले कतै लाखौ सपनाहरु विचलित हुने त होइनन ?




विश्वनै आज कोरोना भाइरसको चपेटाबाट गुज्रिरहेको अवस्थामा नेपाल पनि अछुत रहन सकेन । अहिले दोश्रो लहरको कोरोनाको कारण हामी सबै निषेधाज्ञामा  बस्दै गर्दा पनि  हजारौंको देहावसानले सिङ्गो राष्ट्रनै शोकमा डुबेको अवस्था छ । कहिले जितुँ जस्तो गर्छ त कहिले हारुँला जस्तो। आशा राखौं जित हाम्रै हुनेछ। त्यसैगरि आज मैले यस विषम परिस्थितिमा आफ्नो ज्यान दाउमा राखी सेवामा खटिएका स्वास्थ्यकर्मीप्रती हुने दुव्र्यवहारको विषयमा विचार राख्ने प्रयत्न गर्दै छु यस आलेख मार्फत ।

‘ स्वास्थ्यकर्मी ‘ विश्वले निकै सम्मान दिएर भगवानको अवतार मानेको पेशा तर नेपालमा भने अल्लि हेपिएको भनौँ या इज्जत नपाइएको पेशा ।नेपालमा सम्मान छदैछैन भन्न खोजेको त हैन तर जति सम्मान हुनुपर्ने हो त्यती नभएको चाँहि पक्का हो । कहिले कुटाइको सिकार त कहिले अपहेलना ,घरबेटिका घरका ढोका सदाका लागि बन्द भइदिन्छन् हाम्रा लागि।मानौ हामीले कुनै ठूलै कुकर्म गरेजस्तो । यदि आज देशमा एकपनि स्वास्थ्यकर्मी नहुदा हुन त के हुन्थ्यो देशको हालत ??? के हामीले कहिल्यै यो कुरा मनन गर्ने प्रयत्न गरेका छौँ ? देश र जनताको सेवा गर्छु भनी बाबुआमाको घरजग्गा धितो राखेर स्वास्थ्यकर्मी बन्नु हाम्रो गल्ती हो या हाम्रो कुलीन भनाउदो समाज दोषी ??प्रश्न प्रश्नमै रुमलिन्छ तर उत्तर दिने दु : साहस कसैले देखाउदैनन् ।

आफ्नो ज्यानको माया कसलाई पो हुँदैन र । निषेधाज्ञामा घरभित्रै सुरक्षित भएर बस्ने रहर हामीमा नभएको पनि कहाँ हो र । तर सेवा नै धर्म हो भन्ने मन्त्रले बाँधिएका हामी चाहेरपनि घरभित्र बस्न सक्दैनौं । यो हाम्रो नैतिकता भनौं या धर्म , हाम्रो कर्तव्यले कदापि सो कार्य गर्न दिँदैन। हामी आफ्नो परिवार भनेपनी छोराछोरी ,बाबुआमा भनेनी तिनै अस्पताल र बिरामी हुन् भनी निरन्तर सेवामा तल्लीन भइरहँदापनि बिरामी र कुरुवाको तिरस्कारको भागिदार सदा हामी नै बनेका छौं । यहि हो “आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि भनेको।”

यो सरकार अनि हाम्रो समाज थाहा छैन कुन दिशा तर्फ दगुरीरहेका छ। यत्ति थाहा छ सरकारको ‘त्यो पर्दैन ‘ र ‘ हिहिहि ‘ का चुड्किलाको बीचमा नराम्ररी पिल्सिरहेका छौं हामी नेपाली जनता र स्वास्थ्यकर्मी । अक्सिजनको अभाव भयो – डाक्टर दोषी ,अस्पतालले स्वास्थ्य सेवामा मुल्य वृद्धि गर्‍यो -डाक्टरले लुट्यो ,बिरामी सिकिस्त पर्यो त – नर्सको लापरबाहीले । थुइक्क !! मेरो समाज । व्यक्तिगत स्वार्थ त्यागी समाजसेवा गर्छु भन्ने पनि हामी अनि हामीमाथी नै तुच्छ अपहेलना ? के यो कसैलाई सह्य होला र ? लुटेराको पदवी भिर्याएर स्वाभिमानको ढोङ फुक्ने मेरो समाजलाई के थाहा वास्तविकतामा हामी लुटिएको तथ्य । मारपिटको भागीदार हुँदा इज्जत लुटियो, घरबेटीले घरबाट निकालीदिँदा बस्ने बास लुटियो, पारिश्रमिकमा हामीनै लुटिएका छौं । मान, सम्मान, इज्जत, प्रतिष्ठान सबै लुटिएको छ यहाँ र पनि हरेक मुस्किलको सामना खिसिक्क हाँसेर गर्नु हाम्रो अद्भुत कला हो भन्न हिचकिचाँउनु पर्दैन जस्तो लाग्छ मलाई ।

अमेरिकाको वासिङ्टनको महलमा बस्नेदेखि लिएर जुम्लाको ती छाप्रोमा बस्नेहरुलाई सम्म हामी निस्वार्थ सेवा गरिरहन्छौं। सेवाको क्रममा सहिद बनेका स्वास्थ्यकर्मीको उदाहरण दिउँ या डाक्टर गोबिन्द के.सीको त्याग,अनि निरन्तर सेवा, के अझै काफी छैन र बुझ्नलाई ? ओठ निचोर्दा दूध आउँने त्यो बालकले बरु बुझ्ला तर अन्धकारको पट्टि भिरेको मेरो समाजले बुझ्ने कोसिस नगर्नु साच्चैनै लज्जास्पद कुरा हो भन्न डराइराख्नु पर्दैन। सधैं स्वास्थ्यकर्मी दोषी लाग्ने समाजलाई के अड्कल हामी हाम्रो पेशाकै कारण जीवनको उत्तरार्धमा पुग्छौं । सङ्क्रमितसँगको सिधा सम्पर्क, अनियमित खानपिन, आरामको कमिले ज्याननै जोखिममा छ र पनि हामी हाम्रो कर्तव्यबाट कहिल्यै पछि हटेनौँ र हट्दैनौपनि ।

‘मानिस’ संसारको सर्वश्रेष्ठ प्राणीको रूपमा कहलिएको छ जसको कार्य शैली अनि क्षमताकै कारण अग्रपङ्तिमा पुगेको सत्यलाई नकार्न सकिन्न। ढुङ्गे युगदेखि अहिलेको युगसम्म आइसक्दा संसारले निकै विकासका पत्रहरु पल्टाइसकेको छ। तर अहिले मानिसहरुले हामीप्रति गरेको व्यवहार देख्दा लाग्छ ;हामी कतै ढुङ्गे युगमै त फर्किएनौँ ?हामी स्वास्थ्यकर्मी हजुरहरुका तिनै घटिया सोच अनि कार्यका कारण दिनहुँ शोषणको सिकार बनेका छौं ।
के कसैले कहिल्यै मनन गर्ने प्रयत्न गर्नुभयो हामीमा के बितिरहेको होला भनेर ?? हुनत “अचानोको पीर खुकुरीलाई थाहा होस् पनि कसरी ।” वाह! मेरो समाज ! हामी मन्दिरको ढुङ्गालाई गर्वसाथ पुज्ने गर्छौं तर अस्पतालमा रहेका ती जिउँदा देवतालाई इज्जत दिने दु:साहस कदापी गर्दैनौं ।यो हाम्रो कमजोरी भनौं या लाचारीपन , दोषी नजर र पापी मनको परिणाम हुनुपर्छ पक्कै ।

बिट मार्दा मार्दै ,भनिन्छ नि ,” मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात निकै पबित्र हुन्छ ।” हामी आफ्नो कर्तव्यबाट माथि उठेर गरेका हरेक कार्य प्रशंसनीय छन् । आज स्वास्थ्यकर्मीकै कारण धेरैले पुनर्जन्म पाएका सत्यलाई कसैले कुल्चिनु हुँदैन ।हामीलाई थाहा छ ,आफ्नो कर्तव्यबाट पछि नहट्नेको जीत अवश्य हुन्छ। आज सामाजिक संञ्जालमा पोस्टिएका कुटपिटका भिडियो देखेर हिजोसम्म डाक्टर वा नर्स बन्छु भन्ने ती बालकको सपनाहरु विचलित नभउँन्।छोराछोरी स्वास्थ्यकर्मी हुँन भनी गर्वसाथ छाती फुलाएर हिड्ने वातावरण मिलोस् सम्पुर्ण नेपाली आमाबाबुलाई पनि ।बस् ,यत्तीनै हो हाम्रो चाहना ।
“सेवा गरे -मेवा त अवश्य मिल्छ नि ,हैन र ?”

काजल कार्की   

लेखक, नेपाली सेना स्वास्थ बिज्ञान संस्थान नर्सिङ महाविद्यालय
बि एस.सि नर्सिङ तेस्रो  बर्षमा अध्ययनरत हुनुहुन्छ।


प्रतिक्रिया