कांग्रेस नेता शिवबहादुर खड्काको निधन




काठमाडौं–संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवबहादुर खड्काको आज आइतबार ७८ वर्षको उमेरमा निधन भएको छ।

घरको बाथरुममा लडेर घाइते भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  उनी उच्च रक्तचापकाे समस्याबाट पीडित थिए।

खड्का भद्र अवज्ञा आन्दोलन र सत्याग्रहमा  सहभागी थिए। उनी संविधानसभा सदस्य पनि थिए। उनी ०२७ वैशाख ६ देखि ९ गतेसम्म चलेको प्रजातन्त्रवादी विद्यार्थीको राष्ट्रिय सम्मेलनमा सक्रिय सहभागी थिए।रामेछापको बेथानमा जन्मिएका खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उनी लामो समय सक्रिय थिए ।२०३८ सालमा खड्का रामेछाप कांग्रेसमा जिल्ला सभापति भएर पार्टीको संगठन गरेका थिए।  २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भइ ५ वर्ष काम गरेका थिए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले खड्काको निधनमा दुःख व्यक्त गरेका छन्। पौडेलले फेसबुकमा लेखेका छन्, ‘मेरा बालसखा अन्त्यन्तै हक्की स्वभावका नेता एवम् संविधानसभा सदस्य शिवहादुर खड्काको निधनले मलाई अत्यन्तै मर्माहत बनाएको छ। खड्काको निधनबाट मैले एक जना असल,  इमानदार पुरानो साथी गुमाएको छु। नेपाली कांग्रेसले एक कुशल संगठनकर्ता  गुमाएको छ।’


प्रतिक्रिया