राजनैतिक नैतिकता, काँडपाते शब्द




हावा विपरित दिशाबाट बग्न सक्छ, मौसम प्रतिकुल हुन सक्छ, यात्रा कठिन हुनसक्छ, मृत्युको आभाषले आत्मागल्न सक्ला तर गन्तव्य निर्धारण गरेको यात्री जटायु सरह हिम्मतकासाथ कूजित लक्ष्य भेदन गरेरै छाड्छ । तर कुहिरो लागेको नेपाली राजनीतिका पात्रहरुलाई नियाल्दा खुम्रिनु पर्ने अवस्था छ । भ्रष्ट्राचारको खुम्ले किरो बोकेका यी पात्रहरुले संस्कार, नैतिकता, आदर्श, सिद्धान्त, संस्कृति र सामाजिक न्यायको सिद्धान्तलाई त्रिशुलीमा बगाएर ढोङ, फरेव, ज्वलन, इश्र्या, लोभको पनेला ओढेर राजनीतिक रंगमञ्चमा नाटक मञ्चन गरिरहेका छन । दर्शकरुपी नागरिकहरु धृतराष्ट्र बनी मञ्चन हेरिराखेका छन् ।
राजनैतिक कर्म र पात्रहरुको नैतिक मूल्यांकन गर्ने चाबी भनेको राजनैतिक संस्कार हो, जसलाई राजनैतिक नैतिकता पनि भनिन्छ । राजनैतिक संस्कारबाट पारपाचुके गरेको नेतृत्व पतनगामी हुन्छ । प्रकृयागत संस्कार र योजनागत संस्कार । प्रकृयागत संस्कारले कार्यसम्पादन शैली र सार्वजनिक कार्यालयहरुमा अवलम्बन गरिने कार्य प्रकृयालाई दर्शाउछ भने योजनागत संस्कारले कानून र योजना मूल्यांकन गर्दछ । मूल्य, मान्यता र नैतिकतालाई न्यायको सिद्धान्तले डो¥याइरहेको हुन्छ । तर हाम्रा राजनैतिक कुस्तीवाजहरुले यी सब कुरालाई कोशागारमा हुत्याइ दिएका छन ।
भनिन्छ जहाँ राजनीति र अर्थ हुन्छ त्यहाँ नैतिकता हुँदैन । यो गैर राजनीति र निम्न पूँजिवादी चिन्तन हो । राजनितिले आर्दशात्मक ढोका खोल्यो भने सबै कुरा यसैमा समाहित हुन्छन तर नैतिकता हराएको राजनीतिले कोलाहल निम्त्याएर घात मात्रै गर्दछ । छनौट हुन जरुरी छ ।
वास्तवमा नैतिकता र राजनीतिलाई अलग राखेर हेर्न सकिदैन किनकी मधुरवचनले सबैलाई संन्तुष्ट पार्दछ । दम्भ राजनीतिको भस्मासुर हो, क्यांसर हो । यहाँ सम्मकि यदि कसैले कुनै सभामा अरु कसैले व्यक्तिगत दोष देखाउँछ भने वास्तवमा त्यो अपराधी हो । इमानुएल क्यान्टले बडो तार्किक रुपमा भन्छन कि: ”कानूनमा मान्छे दोषी हुन्छ जब उसले अरुको अधिकार हनन् गर्दछ, नैतिकतामा उ दोषी हुन्छ यदि उसले उसो गर्न सोच्छ भने मात्रै ”। प्रजातान्त्रिक समाजमा नागरिकहरु आदर्शत्मक न्याय के हो भन्ने बारे विमति राख्दछन, राजनैतिक संस्कारले केवल आदर्श न्यायको मात्रै कुरा गर्दैन बरु यसले यहाँसम्मकि नैतिक मान्यता र मूल्यहरुलाई महशुस गर्नुपर्छ भन्ने कुरा गर्छ ।
२०७७ पौष ५ गते अघि र अदालतले सांसद पूर्नस्थापना गरिसके पछि नेपाली राजनीतिमा प्रयोग गरिएका शब्दहरुलाई आँकलन गर्ने हो भने नोपाली राजनीतिका बौद्धिक खेलाडीहरुको शब्द दरिद्रताको पराकाष्टा झल्किन्छ । डबल नेकपा, विद्रोही एमाले, माओवादी केन्द्र, जसपा र नेपाली काँग्रेसभित्र गगन थापाले प्रयोग गरेका शब्दलाई एक पटक केलाऔ त घुन, उपियाँ, सिलेसा, कनिका, ढुंगा र वियाँ सबथोक भेटिन्छ । यस्तो लाग्थ्यो मानौ उनीहरु रत्यौली खेलिरहेका थिए । दम्भको असिमित विन्दु ।
भीम रावल, रामकुमारी झाक्रि, राजेन्द्र महतो, उपेन्द्र यादव, बावुराम, झलनाथ, महेश बस्नेत, नारायणकाजी, गगन थापा, माधव कुमार, रघु पन्त तथा स्वयम पुष्पकमल र के.पि ओलिद्धारा प्रयोग गरिएका शब्दहरु कुनै हालतमा पनि राजनैतिक संस्कारगत र राजनैतिक नैतिकतामा आधारित थिएनन् र छैनन् । रघु पन्तले कोमल ओलिलाई प्रयोग गरेका नैतिक मूल्यहिन शब्दको बारेमा के कुरा गर्नु । भन्नै परे त्यही कुरा फरक र शिष्ट तरिकाले प्रस्तुत गर्न सकिन्थ्यो ।
नेता सेलिबे्रटि भनेका समाजका रोल मोडेल हुन । उनीहरु प्रति आम मानिसको आस्था विश्वास हुन्छ तर यस्ता प्रकृति नेता भनिएकाहरुलाई कसरी रोलमोडेल मान्ने । नेपालका यी राजनीतिकर्मीका काम व्यवहार, शैलि, संस्कृति संस्कार र नैतिकता कुनै कोणबाट पनि ग्राहय भएको पाइदैन । यी नेता बनेर बनेका पात्रहरुबाट समाजले के अपेक्षा गर्ने । आफै त महादेव उत्तानो पर, कस्ले दिने वर न नैतिकता छन संस्कार झुटको महलमा विराजमान यी द्रव्य पिचासहरुले छरेको बीजले केवल यदु विनासक काँडोमात्र होइन देश ध्वस्त पार्ने ऐजेरु उत्पादक गरिरहेका छन ।

यालिस रोसीले दिएको यो तथ्यलाई आजका राजनैतिक दल, नेता र समाजका अगुवाहरुले मनन गर्दा उत्तम परिणाम प्राप्त हुन्छ जहाँसम्म पुरुष र महिलाको सवाल छ, भिन्नता एक जैविक तथ्य हो, जबकि समानता एक राजनीतिक नैतिक र सामाजिक अवधारणा हो । प्रकृति वा सामाजिक संस्थाको कुनै नियमले लिङ्गहरु समान हुनु हुदैन वा सामाजिक, राजनैतिक र आर्थिक बराबरी हुन समान कार्यहरु गर्नुपर्छ भनेर कुनै नियम छैन ।
अब मूल प्रश्न भनेको राजनीतिमा संस्कार र नैतिकता किन समावेश नगर्ने भन्ने हो, किनभने राजनीति न त महिला या पुरुषबाट भिन्न छ न समाजबाट । सारा कुराको मापन यन्त्र त राजनितिनै हो । जब राजनीति फोहर हुन्छ यसले उत्पादन गर्ने सारा अवयवहरु डुङडुङति गन्हाउने हुन्छन । जुन हामी नेपालीले प्रत्यक्ष भोगिराखेका छौ ।

अझै सोच्दा गम्भिर विषय उत्पन्न हुन्छ कि लामो त्याग गरेका नेपाली राजनीतिक कर्मीहरुले किन यति विघ्न अहकांर पालेका होलान ? के यो शिक्षा अभाव हो ? के उनीहरु अज्ञानी हुन ? के यो उनीहरुले बोकेको सिद्धान्तको कारण हो ? कि उनीहरुले भन्ने गरेको लामो त्याग केवल कुर्सी प्राप्तीको लक्ष्य हो ? किन सारा कुरा त्यागेर एकनास कुर्सीमाथी अर्जुन दृष्टि राखेका छन ? के यिनीहरुले बुझेका छैनन कि संस्कारले संसार विजय गर्न सकिन्छ न कि अहकांरले ? के यिनीहरु बुझपचाई राखेका छन ? वास्तकविक ता के हो ? समयले त जवाफ दिन्छ नै तर लगन पछिको पोते हुने हो कि ? विचार गरौ ।

राजनैतिक संस्कार र प्रयोग गर्ने शब्दावलीको बारेमा नेपाली राजनीति गर्ने केही पात्रहरु छाडेर लगभग अरु धेरै जसोलाई ऋणात्मक अंक प्रदान गर्न सकिन्छ तर समग्र दलकै अवस्था पनि झण्डै उस्तै छ चुनावबाट नागरिकको मत पाएर राष्ट्रिय पार्टी बन्ने दायरा पार गरेकाहरुको मत पाएर राष्ट्रिय पार्टी बन्ने दायरा पार गरेकाहरुको अवस्था हेरौ त कस्तो छ ? चुनाव जित्न गरेका यावत क्रियाकलाप सम्झौ त ? मतपत्र च्यात्ने देखि पैसा बाड्ने सम्म, धम्काएर देखि अपवित्र गठबन्धन गर्ने सम्म, के बाँकी राखे यिनले । क्षत्रियता र जातियताको पुलनै बाधेका छन । सांसद भवन भित्र कुर्सी यिनैले भाच्छन, जनता जनता भनी नथाक्नेहरु, जनताको काम गर्नेबेलामा सांसद भवन भित्र घुर्दै निदाउछन । एक पछि अर्को सुविधा आफैलाई थुपार्छन, पुरुष सांसदले सुत्केरी भत्ता खान्छन, घर भएर डेरा भाडा लिनेको त कोरै छोडौ । कहाँ छ नैतिकता कहाँ छ संस्कार ?
हाम्रो राजनीति खराब छ, नेताहरु खराब छन, देश बर्वाद पारे, कर बढाउदै भ्रष्ट्राचार गरेर नागरिकको ढाड भाच्ने एउटा गतिलो नेता छैन, जन्मिएन भन्दै मुख बजार्दै हात बाधेर बस्ने बेला छैन । जो जसले जहाँबाट जसरी सक्छ आ आफ्नो मर्यादित भूमिका निर्वाह गर्न जरुरी छ । आम नेपाली नागरिकले अधिकार भन्दा नेपाली नागरिक हुनुको कर्तव्य निभाउने समय आएको छ । अहिलेको बहसको विषय आउदो पिढीलाई कसरी सुन्दर, स्वास्थ र विकासित नेपाल हस्तान्तरण गर्न सकिएला भन्ने हुनुपर्छ । कुनैवादको झोलाले हाम्रो पेट भर्दैन, बेलैमा खराब तत्वलाई मिल्काएर, असल, सकारात्मक उर्जा प्रदायक तत्व ग्रहण गरौ र नेपाल बनाऔ ।


प्रतिक्रिया