लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न: गगन थापा




नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताएका छन्। अबको एक हप्ताभित्र सबै विषय टुङ्गिनुपर्ने उनको मत छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आ-आफ्नो निर्णय तुरून्तै गर्नुपर्ने पनि थापाले बताए।

बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न। माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ। जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस्। हामीलाई गर्ने भए गर्ने भनोस्। हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौं, हामीले समर्थन लिएर सरकार बनाउने भनौं। अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौं। हामी अहिले जसरी यो संसदलाई किंकर्तव्यविमुढ जस्तो अवस्थामा बनाएका छौं यो देश प्रतिको घात हो। हामी सबै मिलेर गरिरहेका छौं अहिले। अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन। अब अधिकतम एक हप्ता भित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ।’


प्रतिक्रिया