यादव बस्नेतको नेतृत्वमा गोरखामा एमालेको समानान्तर कमिटी




गोरखामा नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले समानान्तर जिल्ला कमिटी गठन गरेको छ। यसअघि जिल्ला उपाध्यक्ष रहेका नारेश्वरका यादव बस्नेतको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी सोमबार गठन भएको हो।

बस्नेत यसअघि वामदेव गौतम निकट थिए। नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदा उनी प्रचण्ड-नेपाल पक्षमा लागेका थिए।

ओली पक्षले नेकपा केन्द्रीय सदस्यसमेत उनलाई बनाएको थियो तर उनले अस्वीकार गरेका थिए। नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षका नेता तथा कार्यकर्ताको भेलाले बस्नेतको अध्यक्षतामा ६४ सदस्यीय समानान्तर जिल्ला कमिटी बनाएको छ।

एक नेताले दिएको जानकारीअनुसार अब बेग्लै पार्टी कार्यालय पनि सञ्चालन गर्ने तयारी छ।  तर उक्त समानान्तर कमिटीलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षका जिल्ला अध्यक्ष प्रेम गुरूङले अवैध भनेका छन्।

अध्यक्ष ओलीले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सोमबार नेता नेपाल र भीम रावललाई छ महिना पार्टीबाट निलम्बन गरेका थिए। नेपाल पक्षले देशैभर समानान्तर कमिटी विस्तार गर्न तयारी गरेको छ।


प्रतिक्रिया