सङ्घर्ष-कथा रङ्गिन छायाँको




निलो आकाश,हरित धरा,शीतल बतास, सुन्दर दुनिया। यस्तो रम्य सृष्टिमा उत्पीडनमा छटपटिरहेका प्रत्येक अराजकता र वैराग्यताका पात्रहरू हिजोआज समाजलाई नवीन दृष्टि दिदैछन्। सम्भवतः माली मरेको साल वसन्तका मञ्जरी ओइलाउनु रङ्गिन इन्द्रेणी पछिका छायाँ जस्तै अदृश्य छन्, यद्यपि विवशपूर्ण कथा र व्यथा आ-आफ्नै छन्। फरक यत्ति हो, रेखाङ्कित हरेक कथा उडाइएका धुवाँको मुस्लो झैं हराएर जान्छन्।

शब्दमा लेखिनु , वाचा गर्नु अनि कार्यन्वयन नगर्नु हामी सबैको घटना क्रमको ताजा विषयसूची हो। मलामीको सङ्ख्याले लासको औकात छुट्याउने मेरो समाज, थाहा छैन कुन मार्गतर्फ उन्मुख हुँदैछ ? हिजोका दिनमा हेर्ने दृष्टिकोणमा अब आमूल परिवर्तन ल्याउनुपर्छ। वर्तमानको अन्धकारलाई छिचोलेर बिहानीको किरणको स्पर्शमा रमाउने र सुन्दर मगजबाट उज्वल भविष्यको कल्पना गर्ने प्रत्येक अशक्तलाई सशक्त बनाउनुपर्छ।
रङ्गिन सपना र आकाङ्क्षा दृष्टि सम्पन्न मानुषको मात्र हुदैन,जो कोही अशक्त ब्यक्तिहरुको पनि हुन्छ।तर विडम्बना,समान ब्यवहार र वातावरणको अभावले सन्तप्त मुस्कान अनि विदीर्ण मनका साथ मडारिरहेछन्।यी सबै द्वेष अनि विकारहरुबाट मुक्त पारेर यो समाजलाई सिगार्नुपर्छ। दृष्टि कुनै इन्द्रेणीका रङ्ग झैँ कुण्ठित मात्र छैन, अन्तस्करणका भावना र चिन्तन पनि हो। सम्भवतः अन्तदृष्टिको परिभाषा पनि यही हो। अशक्त हुनु कमजोरी र सफलताको बाधक हैन, तपाईंको जीवनज्योति बाट समाजको अध्यारोलाई कहिले नफर्किने गरि बिदा गर्न सक्ने सुनौलो सङ्केत हो।
समयका अनन्त एकाइहरूमा शोषित मनहरूले भोगेका कथा कुनै चलचित्रमा छयाङ्कन गरिएका कथाभन्दा कम छैनन्। समाजले दिएको यातना घाउमा मलम हैन, उज्वल भविष्यको उपल्लो खोल्सामा पेचकिला गाडिरहेको सत्यता हाम्रा नजरहरुले ननियालेका भने होइन। यो पृष्ठभूमिलाई एक झल्को नियाल्ने हो भने,’हाम्रो संविधान सबैका लागि’ भन्ने भनाईको सत्यता हराएर ओइलिन्छ नै। सोलुको उकालोमा भारी बोक्नेदेखि महलमा बसेर हुक्का तान्नेहरूलाई समेत संविधानले सम्बोधन गर्न अपरिहार्य छ। खोक्रे विकासमा होमिइने र पश्चिममा मुलुकले घोडा चढे हामी धुरी चढ्ने संस्कारमा हैन,अब अशक्त ब्यक्तिहरुको समान व्यवहारको सुनिश्चिततामा जुट्नुपर्छ।

परिवर्तन हरेक व्यक्तिबाट सम्भव छ। असम्भव त केवल अल्छीहरूको शब्दकोषमा मात्र हुन्छ। एक दृष्टान्तको रूपमा जय राम लामिछाने अर्थात् अथक मिहिनेतका पर्याय,एक जुझारु युवा नेतृत्वकर्ता-(President of Colorful shadows). धादिङको फेदीमा गरिबीको खाडलमा छटपटिरहे पनि आफ्नो त्याग र समर्पणले अमेरिकासम्म पुग्नुलाई लाखौं युवाहरुलाई प्रेरणा र जीवन दर्शनका रूपमा लिन सकिन्छ। हामी कुनै शक्ति लरखराएका अशक्त होइनौं, सामान्य ब्यक्तिभन्दा फरक र अद्भुत क्षमता भएका शक्ति सम्राट हौं भन्ने दरिलो सन्देश पनि हो। बाल्यकालमा गरिबीकै कारण आफ्नो ज्योतिको उपचारका लागि पूँजी नपुगेको र शिक्षाबाट पनि वञ्चित हुनु परेको थियो। चकचके उमेरमा चितवनबाट काठमाडौँ भाग्दै गर्दा उनले पढ्नुपर्छ भन्ने ज्ञान पाइसकेका थिए। पढाईमा अब्बल उनले छात्रवृत्तिमा Golden gate मा अध्ययन गर्दै गर्दा आफू दृष्टिविहीन भएकै कारण अनेकौं सास्ती खेप्नुपरेको थियो। जीवन यापन का लागि उनी दोहोरी साँझमा गीत पनि गाउँथे। कति रात त चिसो सडकमा नै बिताएको उनी स्मरण गर्छन्।सायद, उहाँको जीवनको भोगाइ हामीले कल्पना गरेभन्दा निकै कष्टपूर्ण थियो। त्यहाँ अध्ययन गर्ने क्रममा उनले लक्ष्मी नेपाल मार्फत अमेरिकामा अध्ययनको बारे थाहा पाए। अन्ततः उनको सपना पूरा भयो। वर्तमानमा उनी नेपालमा रहेका अशक्त विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था, वक्तित्वकलाको आयोजना, अध्यापन गराउछन्। उनी चाहन्छन्-आफूले भोगेका भोगाइ अबका भावी पुस्ताले भोग्नु नपरोस्।
आउनुहोस्,अब तपाईं हामी हाम्रो सङ्किर्ण विचारलाई परिवर्तन गरौँ र व्यवहारमा रम्न सिकौँ। स्मरण रहोस्-मन्दिरमा पूजा गरेर फोहोर मात्रै पार्ने संस्कारले समाजको स्तरीय विकास गर्न सक्दैन। आशा छ-यो चित्कारको महासागरमा एउटा आशाको दियो बालेर सहयोगी भावना र चिन्तन भएका नयाँ पुस्ताको उदय हुनेछ।


प्रतिक्रिया