च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी




सर्लाही, फागुन २३  । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको छ बाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद चौलागाईं वैदेशिक रोजगारबाट फर्केपछि च्याउको बीउ बेचेर मनग्य आम्दानी गर्नुभएको हो ।

पाँचपटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका बाग्मती नगरपालिका–१० शङ्करपुरका उहाँले कन्ने च्याउको बीउ बिक्रीबाट सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख आम्दानी गर्दै आएको जानकारी दिनुभयो ।
तीन वर्षदेखि व्यावसायिक च्याउखेती गर्दै आउनुभएका उहाँले गत वर्षदेखि बीउ उत्पादन गर्न शुरु गर्नुभएको हो । दुई सय ५० ग्रामको दैनिक एक हजार प्याकेट बीउ उत्पादन गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार यसअघि बीउ लिन हेटौँडा, काठमाडौँ जस्ता ठूला शहरमा धाउनुपर्ने गरेको भए पनि अहिले त्यो समस्या समाधान भएको उहाँको भनाइ छ । अहिले वाग्मतीको शङ्करपुरमै बीउ उत्पादन भएपछि यस क्षेत्रका व्यावसायिक च्याउखेती गर्ने किसानलाई सजिलो भएको छ ।

उहाँले करिब रु ५० लाखमा बीउ उत्पादन गर्ने उपकरण खरिद गर्नुभएको थियो । स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले च्याउ र बीउ बिक्री गर्न बजारको समस्या नभएको उहाँले बताउनुभयो ।

उहाँले प्रतिप्याकेट रु ४० मा स्थानीय किसान, सिन्धुली, रौतहट, महोत्तरीका किसान र कृषि ज्ञान केन्द्र सर्लाहीलगायत देशका विभिन्न ठाउँमा बीउ बिक्री गरिरहेको च्याउखेती र बीउ उत्पादन गर्न उहाँलाई पारिवारिक राम्रो सहयोग छ । उहाँले च्याउको बीउ उत्पादन गर्ने काममा तीन जनालाई रोजगारी दिनुभएको छ । यही व्यवसायको कमाइबाट चार कट्ठा जग्गा खरिद गरेको बताउनुभयो ।

उहाँले ध्रुव कृषि फार्म दर्ता गरेर व्यावसायिकरुपमा च्याउको बीउ तथा च्याउ नै उत्पादन गरी बिक्रीवितरण शुरु गर्नुभएको हो । स्वदेशमै केही गरौँ भनेर २०७४ सालदेखि व्यावसायिक च्याउखेती शुरु गरेका उहाँले अहिले एक हजार ५०० पोका राख्नसक्ने क्षमताको टनेल र घरको तल्लो तलामा एक हजार पोका च्याउखेती गरिरहेका छन् । च्याउखेती विशेषतः जाडो मौसममा हुने गर्छ । बेमौसमी च्याउखेतीका लागि घरको दुई वटा कोठालाई चिसो बनाइराख्न वातानुकूलन उपकरण समेत जडान गरेका छन् ।

स्नातक उत्तीर्ण युवक व्यावसायिक भैंसीपालनमा

यहाँका एक युवकले भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । स्नातक पढाइ पूरा गरेर जागिर नखाइ बाउबाजेले गर्दै आएको पशुपालन पेशालाई अगाडि बढाउँदै आएका कविलासी नगरपालिका– १० सलेमपुरका रवीन्द्र यादवले गाउँमै कृषि फार्म खोलेर भैँसीपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको हो ।

बाबुबाजेले गर्दै आएको कृषि पेशालाई नै अगाडि बढाउनुपर्छ भन्ने सोंच लिएर बिबिएको पढाइ सकेर आफूले करिब एक वर्ष पहिलाबाट रु २५ लाख बैंकबाट ऋण लिएर हिम अमृत कृषि फार्म दर्ता गराई भैँसीपालन व्यवसाय शुरु गरेको उहाँले बताउनुभयो । एक वर्षदेखि सञ्चालन गर्दै आएको फार्ममा पालिएका भैँसीबाट उहाँले राम्रो आम्दानी गर्दै आउनुभएकाे छ ।

उहाँको कृषि फार्ममा अहिले ५० भैँसी, तीन राँगा, २५ वटा पाडापाडी र दुई गाई  छन् । पच्चीस दुधालु भैँसी उहाँले फार्ममै राखेका छन् भने दूध दिन छाडेका २५ भैँसी गाउँकै स्थानीय किसानलाई पाल्न दिएको यादवको भनाइ छ । आफूले फार्ममा पालेका सबै पशुको पशु बीमासमेत गराइसकेको उहाँले बताउनुभयो ।

गाउँमा पाल्न दिएका भैँसी ब्याएपछि पालेबापत केही रकम दिएर पुनःफार्ममा फर्काएर ल्याउने गरेको उहाँको भनाइ छ । जिल्लाको नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत पर्ने त्यस क्षेत्रको सुप्रसिद्ध चमेली माईको मन्दिर नजिक सडक छेउको आठ कट्ठा जग्गामा सञ्चालन भइरहेको उक्त कृषि फार्ममा पालिएका भैँसीको आहाराका लागि करिब साढे तीन बिघा जग्गा भाडामा लिएर घाँस रोपेको उहाँको भनाइ छ ।

प्रत्येक दिन एउटा भैँसीका लागि करिब ५० किलो आहाराको आवश्यकता पर्ने गरेको उहाँले बताउनुभयो । यसका लागि प्रतिभैँसी ३० किलो सुख्खा भुस, १५ किलो हरियो घाँस र पाँच किलो दाना मिसाएर खाना तयार पारिन्छ ।

फार्मबाट दैनिक २०० लिटर दूध उत्पादन हुने गरेको छ । कृषक यादवले कृषि फार्ममा उत्पादन भएको दूध बजारसम्म पु¥याउनका लागि फार्मसँगै डेरी पनि खोलेका छन् । उक्त डेरीमा आसपासका स्थानीय किसानले उत्पादन गरेको दूध सङ्कलन गरी दैनिक करीब ५०० लिटरभन्दा बढी दूध जिल्ला सदरमुकाम मलङ्गवालगायतका ठूला बजारमा पठाउने गरेको तर पनि बजारको मागअनुसार पु¥याउन नसकिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले कृषि फार्ममा दुई जना स्थानीय व्यक्तिलाई रोजगारी दिनुभएको छ । उहाँले अझै भैँसी थप्ने योजना रहेको बताउनुभयो । एक वर्ष पहिले करीब रु २५ लाख बैंकबाट ऋण लिएर शुरु गरेको व्यवसाय अहिले करिब रु एक करोड २५ लाख पुगिसकेको छ । दूध बिक्रीबाट राम्रो आम्दानी भइरहेकाले कृषि पेशाबाट आफू पूर्ण सन्तुष्ट रहेको यादवको भनाइ छ । युवाशक्ति सबै विदेश जाने क्रम चलिरहेका बेला उहाँ भने यस क्षेत्रका युवाका बीच गतिलो उदाहरण बन्नुभएको छ ।

पढेलेखेका युवालाई जागिर नपाएर वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै देशको भूमिमा रहेर कृषि क्षेत्रमा लाग्न उहाँको सुझाव छ । कृषिमा पशुपालन मात्र नभई व्यावसायिक तरकारी तथा फलफूल खेती, मत्स्यपालन, पोल्ट्री फार्म तथा कृषिसम्बन्धी अन्य विभिन्न क्षेत्रमा राम्रो सम्भावना रहेकाले आफूले गर्नसक्ने कुनै पनि एउटा व्यवसाय छनोट गरी त्यससम्बन्धी तालिम लिइ दक्षता हासिल गरेर अगाडि बढ्न उहाँले युवालाई सुझाव दिएका छन् ।

कृषि व्यवसाय सञ्चालन गर्न सरकारले किसानलाई सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । बेलाबेलामा अनुदान दिने र ऋणको ब्याजमा समेत सहुलियत दिने गरेकाले कृषि पेशा अरु पेशाभन्दा सुरक्षित रहेको कृषक यादवको भनाइ छ ।


प्रतिक्रिया