देश आँधीबेहरीको हुरहुरेमा




अखबारपत्र: देश अस्तव्यस्त राजनीतिको परिणाम स्वरुप छ्यान्नब्यान्न भएको प्रणालीमा आकुलव्याकुल छ । जन अस्तित्ववादका मसिहरुले राजनीतिलाई तबेले अखडामा हुत्याइदिएका छन ।
राजनितिक आसुरी विधाका नायकहरु आमनागरिकलाई समृद्धिको सपना बाडेर देशलाई आँधीबेहरीको हुरहुरेमा धकेल्दै रत्यौली खेलिरहेका छन । बेसोमतिलो कर्कशनेतीय बाँसुरीको धुनमा बिछुकी झुण्डहरु झण्डा फहराउदै विरोध र समर्थनमा सडक नापी रहेछन । भोक, अभाव, गरिबीका तलमा दबीएका कुण्ठा मनहरु अस्ताचलमा करपात्री भएका छन ।
आन्दोलनको राँको बालेर एउटा वीजको अन्त गर्दै अर्को अक्षम वीजलाई गद्दीरोहण गर्ने उत्कुण्ठा पालेका मुखहरुले कहिल्यै जनसरोकार, जनजिविका, जनमत तथा भोक,रोग, गरिबी, बेरोजगार आदिका बारेमा आवाज बुलन्द गरेनन ।
हिजो चप्पल पड्काएर हिड्ने आज अकुत सम्पतिको मालिक कसरी भए ? रातारात पजेरोपथी कसरी बने ? यो कसैले कहिल्यै बुझ्न कोसिस गरेनन, नत विरोध नै गरे । दास मनोवृतिले ग्रस्त कोर्काली झुण्डहरुले कहिल्यै बुझेनन् कि उनीहरुको काँधमा खुट्टा टेकेर अग्रगामी छलाङ त देश र जनता लुट्ने दलाल, फरेवी नेताहरुले मारेका छन । यसर्थ आज देश जुन अवस्थामा छ, यो अवस्थासम्म ल्याइपु¥याउनेमा हामी सबै नेपाली दोशी छौ । आ आफ्नो भूमिकाको दोशको भागिदार त बन्नैपर्छ ।
दुई नेताबीच जन्मिएको अहंकारको टकरावले एकातिर देश राजनैतिक दलदलमा फसेको छ भने वाह्य शक्तिहरुले आगोमा घ्यू थप्दै आफ्नो अनुकुल खेल मैदान निर्माण गर्न अर्कोतर्फ कम्मर कसेर लागेका छन । नेपालको अस्तित्व रक्षा गर्ने जिम्मा आम नेपालीको हो । आन्तरिक देशद्रोही राष्ट्रघाती तथा वाह्य घुसपैठीहरुको विरुद्ध सुझबुझका साथ एक भएर प्रतिकार गर्नेबेलामा हामी कसैको व्याधा बन्यौ भने न देश रहन्छ न त हामी नेपाली नै रहन्छौ । प्रचण्ड, माधव, झलनाथ, शेरबहादुरहरुलाई त हामीले जाँचीसक्यौ र यिनीहरु फेल भैसकेका पात्रहरु हुन ।

अब फेरी देशको बागडोर, हामी नेपालीको भविष्य यीनै पात्रहरुको हातमा दिन एउटा नेपालीले अर्को नेपालीकोे रगत सडकमा बगाउन कति समय सापेक्ष होला ? धर्म र जातको नाममा देश विभाजन गर्न उदधत बाबुाराम प्रवृतिका पात्रहरुलाई देश हाक्न दिँदा कति जायज होला ?
अब हामीले समयको माग बुझ्न जरुरी छ । समयले नयाँ पात्र खोजेको, देशले नयाँ नेतृत्व मागेको छ । पुराना भ्रस्ट मक्किएका व्यक्तिहरुका निम्ति रगत बगाउन धृस्टता मात्र हुनेछ ।
कृषि र रेमिट्यान्सले धानेको देशको अर्थ व्यवस्था संघीयता, नेतृत्व तथा योजनाकारको अर्कमण्यता, फजुल सरकारी खर्च भ्रष्ट्राचार र निरन्तर उत्पादनमा ह्रासका कारण लगातार ओरालो लागिरहेको छ ।
यहि गतिमा र यस्तै राजनैतिक वातावरणमा जाने हो भने फेरी अल्प विकसित राष्ट्रमा गणना हुन बेर लाग्दैन । सन २०१७ देखि २०२० सम्मकै सरकारी आंकडा हेर्ने हो भने पनि अवस्था कहालिलाग्दो छ । कोरोना कहरका कारण विश्व अर्थव्यवस्था नै डगमगाइ रहेको बेला नेपाल जस्तो देशले बडो गम्भिर हुन जरुरी थियो, अर्थ व्यवस्था चलायमान राख्न चतुर योजना निर्माण गर्नु पर्ने थियो तर वैक्तिक कुर्सीवादी अंहकारमा पौडीखेल्दैमा नेतृत्वतहलाई फुर्सद छैन, हामी नागरिकहरु अझै उनीहरुलाई उत्साहित पार्न हस्त नगारा बजाइरहेका छौ ।
जापान, बेलायत, अमेरिका जस्ता राष्ट्रहरुले आफ्नो अर्थ व्यवस्था उकास्न तीन वैकल्पिक योजना अघि सारेर वहस तथा छलफलमा केन्द्रित छन हामी भने जिन्दावाद र मुर्दावादको नारामा कैद हुदै अनुत्पादक खर्च पोखेर झण्डा सिलाउदै छौ । मामाको धन, फुपुको श्राद्ध जस्तो गरी विजुली सर्वतमा खन्याउदै छौ । एक खोज तथ्यांक भन्छ । अहिलेको आन्दोलनले मदिरा व्यापारको डोको निकै उकासिएछ ।

आज झण्डा बोकेर सडकमा “हामी यहाँ छौ” भन्नेहरुले ०६२/०६३ को आन्दोलन पश्चात अब राजनैतिक क्रान्ति सकियो भन्दै हिडे तर फगत कुर्सी द्धन्दमा देशलाईनै बन्धक राख्ने काम गरे । दुर्भाग्य त त्यसबेला हुने छ जब देशले यसको ठुलो मुल्य चुकाउनुको पर्ने छ ।

देशको अर्को दुर्भाग्य भनेको प्रायः नेता बनाइएका र भनिएकाहरु अपराधी छन । देश अपराधीहरुको हातमा छ । हत्यारा भ्रष्ट्र रअ तथा सिआइएका एजेन्टहरु, होली वाइनका दलालहरु हािम्रा नेता छन र अझै कुर्सीको निम्ति सिंगुरी खेल्दै छन । यी कुपात्रहरुले जस्तो संरचनाको विरोध गरेर सत्तारोहण गरे आज ठिक त्यही बाटो अवलम्बन गर्दैछन । विश्वास गर्न लायक एउटा पात्र छैन । अहिलेको आन्दोलनले एउटा रमाइलो पक्ष उजागर गरेको छ कि देशमा कम्युनिष्टको विरुद्ध बाहेक नेतै रहेनरहछन । एउटा कम्युनिष्टले अर्को कम्युनिष्टको विरुद्ध सडक आन्दोलन गर्दा अन्य पक्षहरु दुलापसे । राजावादी भनिएकाहरु सेलाएर तमाशा हेर्न थाले । धमिलो पानीमा माछामार्न काँग्रेस र जसपाहरु दाउ हेर्दै छन ।
अस्तव्यस्तताको कुरा गर्ने हो भने कुनै एक यस्तो स्थान छैन जहाँ सकरात्मकता खोज्न सकियोस । ट्राफिक भताभुङ्ग छ, त्यसै त काम गर्न नरुचाउने सरकारी कर्मचारी घाम तापेर बदाम खादै छन । लघु तथा दिर्घकालीन आयोजनाहरु लथालिंग हुनुका साथै महंगी नियन्त्रण तर्फ कुनै ध्याननै छैन । स्वेइच्छाचारिता यति बढेको छ कि नियम कानुनहरु किताबभित्र कैद छन मनमौजी छन ।

जसले जे गरेपनि कुनै डर कर छैन । भागरथीहरु बलात्कृत भैरहेका छन । तस्करहरु मौटाएकै छन । भ्रष्ट्राचार मौलाएकै छ, घुस चलेकै छ । चाहे सडकका विद्रोही हुन चाहे कुर्सीका द्रोही देश टाट पल्टाउन उद्धत छन । देशभक्तहरु टुलुटुलु हेर्न सिवाय केहि गर्न सक्ने अवस्थामा छैनन । यहि खालको यथास्थिति यसरीनै हुर्किदै गयो भने नेपालीहरुको भविष्य सुन्दर छैन । भारतिय सिमा मिचाइ र हस्तक्षेप उस्तै छ । सांस्कृतिक अतिक्रमण थामिएको छैन यसर्थ नेपाल भूमरीमा फसेको छ, निस्किने निकास कुल्चिएको छ ।
२००७ सालको प्रजातन्त्र पछि मोहन शमशेरलाई प्रथम प्रधानमन्त्री मानेर अहिले ओलिसम्म आइपुग्दा छयालिस पटक प्रधानमन्त्री फेरिए भने पाँचपटक राजाहरुले प्रत्यक्ष शासन गरे तर जनजिविका र जनसरोकारको विषयमा तात्विक अन्तर आउन सकेन । सबै शासकहरु यो वा त्यो बाहानामा एउटै तराजुमा तौलिन मिल्ने खालका भए । विचार, वाद र पार्टी अलग भएपनि शासनशैलीको सारमा एक रुपतानै देखियो । कतिपय राष्ट्रिय मुद्दामा पतनै भए । विदेशी हस्तक्षेप भित्र्याउदै गए, परमुखापक्षी बन्दै गए । राम्रोलाई भन्दा हाम्रोलाई रोजे । देशभन्दा व्यक्तिलाई खोजे ।

बडा महाराज पृथ्वीनारायण शाहदेखी वीर योद्धा तथा तमाम सहिदहरुले आफ्नो रगत र पसिना सिंचेर एकतावद्ध पारेको देश संघियतासम्म आइपुग्दा छ्यान्नबिन्न पारे । मात्र पाँचवर्ष घुसतन्त्र, भ्रष्ट्राचार तन्त्र र म तन्त्रलाई त्यागेर हामी नेपाली तन्त्र तथा फजुलका विदेशीवाद त्यागेर नेपालवाद हुनसके हामी विश्वका धनाड्य मध्यका एक धमी राष्ट्र नेपालका नागरिक हुने छौ । हामीलाई प्रकृति माताले अपार सम्भावना दिएकी छन ।
तर यो प्रणाली भत्काउन जरुरी छ । संघियता र धर्म निरपेक्षताको सवालमा जनमत लिन जरुरी छ, यी दुई नेपालका घातक तत्वहरु जिवित रहेसम्म नेपालमा स्थिरता हुनेवाला छैन । मधेशका जायज र राष्ट्रघाती नभएका मुद्धाहरु बेलैमा संबोधन गरिनुपर्छ । नागरिकता हुलाकको टिकट बाडे जस्तो गरि बाड्ने कार्य रोकिनु पर्छ । अपराधिक तथा खर्चिलो राजनितिक प्रणाली, भ्रष्ट्राचार तन्त्र, घुसतन्त्रलाई तिलान्जली दिनु जरुरी छ ।

सुरक्षा घेरा भित्र बसेर मत्ता हात्ती बन्दै राष्ट्रिय ढुकुटीको सत्यनाश पारेका भू.पूहरुको सुरक्षा घेरा तोडिनुपर्छ, आम नेपाली सरह जीवीकोपार्जन गरी बस्न वाध्य पारिनु पर्छ । यिनिहरुलाई दिने भत्ता र पेन्सन रोकिनु पर्छ । जब राजनिति समाजसेवासँग जोडिन्छ तब वास्तविक राजनिति बन्छ तर यहाँ भैरहेको पेशा राजनितिले कहिल्यै समृद्धि ल्याउने छैन ।
अब हामी आम नेपालीले सोच्ने बेला आएको छ कि हाम्रा आन्दोलनहरु प्रगति, शिक्षा, विकास रोजगार, स्वस्थ प्रणाली र एकताका लागि होस नकि कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउन ।


प्रतिक्रिया