महानगरले खुलामञ्च खाली गराउदै




अखबारपत्र:काठमाडौँ,फागुन ५ । काठमाडौं महानगरपालिकाले डोजर लगाएर खुलामञ्च खाली गर्ने काम सुरू गरेको छ।

बुधबार डोजर लगाएर खुलामञ्चमा रहेका संरचना हटाइएको छ। खुलामञ्चमा टहराहरू र निर्माण सामग्री राखिएको थियो।

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेकाले ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई  महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने।

वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि आजबाट उनीहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालिएको मेयर शाक्यले बताए।

उनले काठमाडौँ महानगरपालिकाका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको बताउँदै विस्तारै बसपार्क पनि खुला गर्ने बताए।

‘खुलामञ्च मात्रै होइन, महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको छ। त्यस्तो कतै जानकारी छ भने हामीलाई भन्नुहोला,’ उनले भने।

खुलामञ्च खाली नहुँदा दहलरूले सडकमै विरोध सभा गरिरहेका छन्।

हरेक दिनजसो हुने विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले सडकहरु अस्तव्यस्त बनेको कुरालाई ध्यानामा राखी अझ छिटोभन्दा छिटो खुलामञ्च खुला गर्ने पहल थालेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार आमसभा गर्ने दिन सवारी आवागमन अस्तव्यस्त नहोस् भन्नका लागि सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरिएको छ।

‘अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुन्जेल खुलामञ्चमा ठूला आमसभा गर्ने अवस्थामा महानगरपालिकाले समन्वय गरी सवारीलाई टुँडिखेल घुमाई बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरेको छ,’ उनले भने।


प्रतिक्रिया