जोकरको शब्द खेलमा रमाएर पुर्पुरोमा हात लाउने दिन न‍आओस्




अखबारपत्र:हिजोका तिता विगतमा विद्रोह र अहङ्कारले भरिएका ती दिनहरुमा राजा-महाराजा, तानाशाह वा विभिन्न शासन व्यवस्था विरुद्ध सङ्घर्षका आन्दोलनहरू नभएका होइनन । तर आज फेरि शासकीय अधिनायकवादी निरंकुश तन्त्र र व्यक्तिगत निन्दित स्वार्थका साथै षड्यन्त्रको बन्धक विरुद्ध सडकदेखि सदनसम्म आन्दोलन भैरहदा ,पुरानै दिनहरुको पुनरावृत्ति भएको र नेपाली राजनीति जातो झैं घुमिरहेको भान हुन्छ।

दशकौं लामो सङ्घर्ष र समर्पणले प्राप्त संविधानको अपनत्व विरुद्ध धज्जी उडाउँदै संविधानले नै नृशंस बलि खाएको देख्दा प्रतिकारको ज्वालाले अंधभक्त नेतृत्वकर्ताको राजनीतिलाई धराशायी अवस्थामा पुर्याउने निश्चित झैं देखिन्छ। यो आलेखको चौघेराबाट आक्रोश कदापि पोखिएको हैन, यद्यपि तमाम नेपालीको आवाजलाई एकत्र गर्ने प्रत्यत्न गरेको छु।
सायद हिजोआज राजनीतिको तलाउ निकै धमिलिएर होला, स्नातक उत्कृष्टताको सर्टिफिकेट भिरेर हिड्ने ती पल्ला घरे रामे दाई वैराग्यताको पात्र अनि अराजकताको अनुयायी बनेका छन्। प्रतिफल स्वरुप विदेशको भूमिमा धकेलिने युवाको सूचाङ्कमा उनी पनि पर्ने निश्चित झैं देखिन्छ। सायद, वालुवाटार र शीतलनिवासका लीलाकारी अन्धभक्ताहरू आफैबाट रचित कृत्रिम नाटकमा अभिनय गर्न नै व्यस्त भएर होला,मातृस्नेह र राष्ट्रस्नेहको अभावमा एकाबिहानै”चक्रपथ,चाबेल”भन्दै कराउने ती सहचालक भाई जस्तै होटलका भाडा टल्काउने सयौँ बालबालिकाले दासत्व नपाएका! कहिले हस्तिनापुरको बास त कहिले चपरीमुनिको बास। राजधानी कै सडकमा उखु किसानको रोदन र चिच्याहट सुनिदैन भने, सोलुको उकालोमा भारी बोक्ने ती दाईको जीवन व्यथा देख्न त राजधानीको धूवाँ धूलोले दृष्टि अदृश्य बनाइदिएको छ।

लिप्त राजनीतिको नयनले रत्नपार्कमा ओखती बेच्ने र “म्याउ म्याउ” को अभिनय गर्न निकै सक्षम देखिन्छ यद्यपि कैलालीमा छाउपडी र भोकमरी कै कारण सयौँको मृत्यु भएको देख्न हाम्रा दृष्टि असक्षम छन्।

निर्मलाको न्यायको लागि गौण ति आवाज आज आफ्नो राजनैतिक अस्तित्व र प्रतिष्ठाका लागि सडकमा पछारिन सक्षम छन्। हामी सबैसँग हात्तीको जस्तै लुकाउने र देखाउने दाँत भएर होला, समृद्धि र हवाई वाचाका असङ्ख्य झुटको सपना सधैका लागि अदृश्य भ‍एका छन्। यस्तो लाग्दैछ-हामी लोकतन्त्र नभएर जोकरतन्त्र र लुटतन्त्रको अभ्यासमा जुट्दै छौँ।
शब्दमा लेखिनु, वाचा गर्नु अनि कार्यन्वयन नगर्नु हामी सबैको घटना क्रमको ताजा विषयसूची हो। अबको आश्वासन -देशलाई समृद्ध बनाउछु भन्नु त केवल हुटिट्याउँले आकाश थेग्छु भने जस्तै हो। यद्यपि हावामा महल बनाएरै देखाउने नेता भनाउँदाको रबाफको कमी छैन यहाँ। हामी अर्काको आँखामा छारो हाल्न पूर्ण सिपालु भ‍इसकेका छौँ। आशा छ-यो चीत्कारको महासागरमा एउटा आशाको दियो बालेर राजनीतिमा केन्द्रित नयाँ पुस्ताको उदय हुनेछ अनि धुन्धुकारी र अचाक्ली आत्मकेन्द्री पात्रहरूको पतन हुनेछ। सत्तामा जो सुकै रहुन् ,यो आपत्तिको विषय भएन , यद्यपि कोही पनि उत्पीडनमा छटपटिएका रैथानेहरू शिक्षा ,स्वास्थ्य र आफ्ना अधिकारका निमित्त भौतारिरहन नपरोस्।
एउटा विज्ञानको विद्यार्थीले षड्यन्त्र र कुचक्र राजनीतिको ‘बुद्बिचाल’लाई बुझ्न असक्षम पक्कै नै छ। माइतीघर मण्डलाको भीडमा अनि गगनभेदी स्वरमा प्रतिनिधिसभा पुनस्थापनाको हुनुपर्छ भनी सरकारको आलोचना गर्न पनि असक्षम हूला। यद्यपि यो निर्णयले जाज्वल्यमान सूर्य सरह शरदको खुला आकाशमा चम्किएका भावी पुस्ताको भविष्यलाई धमिलो पक्कै बनाएको छ र ऐजन कुकृत्य अक्षम्य छ नै। सिरक भित्र खुट्टा छिराएर लात्ता हान्ने प्रवृत्ति त्यागौं। यो प्रतिकारको समय हो।एउटा जोकरबाट सिर्जित शब्द खेलमा रमाएर भोलि पुर्पुरोमा हात लाउने दिन न‍आओस्।
#शुभदिन

कौश कार्की –मन्थली नगरपालीका- सुनारपानी
हाल  CCRC कलेजमा अध्ययनरत


प्रतिक्रिया