काठमाडौं उपत्यकामा अत्याधिक वायु प्रदूषण,सरकारले भन्यो आवश्यक नपरी नहिँड्नु




अखबारपत्र:काठमाडौँ, पुस २१।सोमवारदेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्याधिक बढेको भन्दै जनस्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
संसारकै प्रमुख शहरहरुको रियल टाइम एअर पोलुसनबारे अध्ययन गर्ने वेबसाइट आईक्यूएअर डटकमका अनुसार काठमाडौंमा सोमबारको वायु प्रदूषण खतराको बिन्दूमा पुगेको जनाएको हो ।
उक्त वेबसाइटका अनुसार काठमाडौंमा वायुको गुणस्तर खराबको सूचीमा १ नम्बरमा रहेको छ । उसका अनुसार राति ९ बजेसम्म पनि काठमाडौंको वायुमा कुनै सुधार नदेखिएको हो ।

वायु प्रदूषणका दृष्टिले काठमाडौं खतराको सूचीमा रहेको भन्दै त्यस्तो अवस्थामा के गर्ने, के नगर्ने भन्ने स्वास्थ्य सल्लाहसमेत दिइएको छ ।
प्रदूषणको कारण काठमाडौंमा आँखा पोल्ने, रुघा लाग्ने, खोकी लाग्ने, छाला चिलाउने लगायतका अल्पकालीन लक्षणहरू देखिएको र दीर्घकालमा मुटु, फोक्सो तथा मस्तिष्कमा समेत खराब असर पर्न सक्ने जनस्वास्थ्य विज्ञले बताएका छन ।
खासै उद्योगधन्दा नभएको काठमाडौंमा यति ठूलो प्रदूषण कसरी भयो त ? पूर्वसचिव तथा मौसमविद् ऋषिराम शर्मा मौसम, काठमाडौंको जनसंख्या र उपत्यकाको भू-बनावटले यस्तो भएको बताउँछन्।

पश्चिमी वायु आएपछि इन्भर्सन लेयर बनेर यस्तो भएको हो, शर्माले भने। इन्भर्सन लेयर भनेको जमिनको सतहभन्दा माथिको वायुमण्डल तातो भएर तलको हावा माथि जान नपाउनु हो।
वन तथा वातावारण मन्त्रालयका अनुसार नेपालमा प्रदूषणको मात्रा बढ्नुमा गाडीबाट निस्कने धुवाँ ३५ प्रतिशत जिम्मेवार छ। यसैगरी उद्योग तथा कलकारखानाले २५ प्रतिशत र इँटाभट्टाहरूले २५ प्रतिशत प्रदूषण बढाउने गरेका छन्। बाँकी १५ प्रतिशत अन्य क्षेत्र जिम्मेवार हुने मन्त्रालयको भनाइ छ।

अत्याधिक वायु प्रदूषणका कारण समस्या भएकोले घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन।


प्रतिक्रिया