स्वस्थ जीवनशैलीका लागि यस्तो सुझाव दिन्थे राष्ट्रकवि घिमिरे




१०१ वर्षको उमेरसम्म पनि शरीरमा स्फूर्ति थियो । कसैको सहाराविना हिँडुडुल गर्न सक्दैन’थे तर अनुहारमा कान्ति छाएकै हुन्थ्यो । १०० वर्ष पुगेपछि हरेक मान्छेको दोस्रो जीवन सुरु हुन्छ, भनिन्छ। उनको पनि नयाँ दाँत पलाएर नयाँ जीवनको संकेत गरिरहेको थियो ।

उनको १०१ औं जन्मदिनमा उनले झण्डै एक सातासम्म सुखले बस्न पाएनन् । उनलाई शुभकामना दिन आउने क्रम झण्डै एक सातासम्म चल्यो । ४०/४५ मिनेटसम्म निरन्तर कुरागरेपछि केहीबेर भने पनि शरीरले विश्राम माग्थ्यो । तर उनको सक्रियतामा कमी भएको थिएन ।

१०१ वर्षसम्म यसरी हाँसिखुसी बस्नको लागि कस्तो जीवनशैली अपनाउने ?भन्ने प्रश्नमा कविवर भन्थे ‘स्वस्थ्य जीवन बाँच्नका लागि सधैं सक्रिय हुनुहोस् । सक्रिय भएपछि शरीरमा स्फूर्ति आउँछ । शरीर स्वस्थ हुन्छ ।’

१०१ वर्षसम्म पनि उनको सिर्जना शक्ति रोकिएको थिएन । उनी सिर्जना शक्तिमा केही ह्रास भएको कुरालाई भने स्वीकार्थे । उनी भन्थे ‘पहिले रुखमा पात हल्लिँदा पनि साहित्य फुथ्र्याे । अहिले त्यो शक्तिमा कमी आएको छ ।’

उनी लामो आयु र खुसी हुनको लागि सिर्जनशील हुनुपर्ने बताउँछन् । रचनात्मक काममा लाग्नु भनेको कविता, कथा लेख्नैपर्छ भन्ने होइन । तपाईं जे काम गर्नुहुन्छ, त्यो रचनात्मक हुनुपर्छ भन्ने उनको तर्क छ ।

यसबाहेक सकारात्मक सोच पनि स्वस्थ जीवनशैलीको आधार रहेको राष्ट्रकविको मत छ । सधैं सकारात्मक सोचका साथ अघिबढ्न पनि कविवर सुझाव दिन्थे ।

आफ्नो जीवनकालमा कवि घिमिरेले सानातिना विषयबाहेक कसैको मन दुखाउने काम नगरेको सुनाउँछन् । उनी राष्ट्रिय स्तरमा पनि कहिलै विवादमा आएनन् । मृदुभाषी बन्नु पनि एउटा असल जीवनशैलीको आधार रहेको बताउँ’थे, राष्ट्र कवि घिमिरे ।

योग र व्यायाममा सुझाव 

उनी आफू योग, व्यायाम, प्रणायाम नियमित गर्ने गरेको सुनाउँछन् । अनलाइनखबरसँग उनले भनेका थिए ‘किशोर उमेरमै म झन्डै जोगी पनि भएको थिएँ । त्यहीबेला योग गर्न सिकेँ । अहिले पनि त्यही आसन गर्छु । हुन त भारतमा अहिले योग गुरुहरूले योग सिकाउन थालेका छन् ।

रामदेवले पनि योग सिकाइरहेका छन् । साह्रै राम्रो कुरा । योग गरियो भने शरीर निरोगी हुन्छ । दिमाग पनि राम्रो हुन्छ । म लेख्न बस्दा पनि बेलाबखत योग गर्छु । अलि अल्छी लाग्यो, जिउ सञ्चो नहोला जस्तो भयो भने योग गर्छु, ठीक हुन्छ ।’

खानामा ध्यान दिऔं

स्वस्थ जीवनशैलीको लागि खानामा विशेष ध्यान दिन राष्ट्रकवि घिमिरे जोड दिन्थे । खानेबेलामा थोरै खाने तर धेरै पटक खाना खाने उनको खानपिन शैली थियो । ‘खानामा मलाई दूध अनिवार्य चाहिन्छ । सागपात पनि मनपर्छ ।’ उनी भन्थे ‘मदिरापान गर्ने, रातभर बस्ने, मोजमस्ती गर्नेजस्ता बानी त्याग्नुस् ।’ उनी राति सुत्ने बेलामा ढुक्कसँग निदाउन र प्रकृतिसँग धेरै रमाउन सुझाव दिन्छन् । साथै, सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।


प्रतिक्रिया