तत्काल उपत्यका भित्रिने नाका सिल नगरे संक्रमण नियन्त्रण बाहिर जानसक्ने चेतावनी




काठमाडौं ।उपत्यका नगरपालिका फोरमले उपत्यका प्रवेश गर्ने सबै नाका सिल नगरिएसम्म उपत्यकाभित्र कोरोना संक्रमण नियन्त्रणमा आउने नसक्ने निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यका भित्रिने सबै नाका सिल नगरे स्थिति नियन्त्रण वाहिर जान सक्ने निष्कर्ष काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताएका छन् । सुरुदेखि नै फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।
आइतबारमात्रै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेको फोरमले सो क्रममा पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्नुपर्ने आवाज उठाएको थियो ।
शाक्यका अनुसार उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाका सिल गर्नुपर्ने आवश्यक छ । उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाका सिल गर्नुपर्ने उनको भनाइ छ ।
शाक्यले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने चेतावनी दिए । उनले भने, ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ । किनकी यहाँ घना बस्ती छ । एउटै घरमा धेरै व्यक्तिहरु बस्छन् । घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरैजना छन् । एउटै कोठामा धेरै व्यक्ति बसेका छन् । यहाँ बिजनेस कम्प्लेक्सहरु धेरै छन् । यहाँ बजार धेरै छ । यहाँ बजारमा आवतजावत गर्दा एकव्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ । त्यसकारण त्यो वेला नै हामीले भनेका थियौं उपत्यका सिल गरौं । उपत्यकालाई कडा गरौं । उपत्यका भित्र रहेका ४० लाख व्यक्तिमा खुकुलो गरौं तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदाखेरी काठमाडौं एउटा शान्त तलाउ भनेका थियौं, शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ ।’


प्रतिक्रिया